
२४ असोज ०७७, टोखा । टोखा नगरपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार ३ सय नाघेको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखामा शुक्रबार ६६ सङ्क्रमित थपिएसँगै नगरपालिकाभित्र कूल सङ्ख्या एक हजार ३ सय १ पुगेको हो । सबैभन्दा थोरै वडा नं १ मा २८ र सबैभन्दा धेरै वडा नं ८ मा १ सय ५६ सङ्क्रमित भेटिएका छन् । टोखामा ११ वडा छन् ।
यस्तै, वडा नं १ मा २८, २ मा ६२,ं ३ मा १५२, ४ मा ६३, ५ मा १३६, ६ मा १ सय ३३, ७ मा १ सय ५५, ८ मा १ सय ५६, ९ मा ८७, १० मा १ सय ४ र ११ मा ९८ सङ्क्रमित भेटिएका हुन् । यस्तै विभिन्न ठाउँमा बसोबास गरेका र टोखा नगरपालिकामा पिसिआर परीक्षण गरेका १ सय २७ सङ्क्रमित फेला परेका छन् । हालसम्म फेला परेकामध्ये ७ सय ३६ पुरुष र ५ सय ६५ महिला रहेका छन् ।
कोरोना सङ्क्रमितमध्ये ८ सय ७ जना निको भएर घर फर्किसकेका छन् भने ४ सय ८९ जना सक्रिय सङ्क्रमित छन् । सक्रिय सङ्क्रमितमध्ये ४ सय ११ होम आइसोलेशन र ५६ बिरामीको उपत्यकाका विभिन्न अस्पतालमा उपचार भइरहेको नगरपालिकाका प्रवक्ता बच्चुराज बस्यालल जानकारी दिएका छन् । जसमध्ये २२ जना अहिलेसम्म सम्पर्कविहीन छन् ।
टोखामा हालसम्म कोरोना सङ्क्रमणबाट पाँच जनाको निधनु भइसकेको छ । निधन भएकामध्ये वडा नं ४ मा एक, ६ मा एक, ८ मा एक र ९ मा दुईजना छन् । नगरपालिकाले कोरोना सङ्क्रमित बिरामीको उपचारका लागि टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा १७ श्ययाको आइसोलेशन सेन्टर स्थापना गरेर बिरामीको उपचार गराउँदै आएको छ । नगरपालिकामा कोरोना सङ्क्रमितको दर बढेसँगै उक्त आइसोलेशन सेन्टरको समेत स्तरोन्नति गरिने नगरप्रमुख प्रकाश अधिकारीले बताएका छन् ।
नगरपालिकाभित्रका सबै वडामा टोखाले पिसिआर परीक्षणको दायरालाई समेत बढाएको छ । हालसम्म झण्डै पाँच हजार व्यक्तिको पिसिआर परीक्षण गरिसकेको छ । टोखाले यसअघि नै कोरोना पोजेटिभ देखिएर होम आइसोलेशनमा बसेका बिरामीलाई प्रतिदिन रु ३५० भत्ता दिने निर्णय गरिसकेको छ । नगरप्रमुख अधिकारीले नगरपालिकाभित्र कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गए नगरपालिकाभित्र रहेका ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासी, ग्रिनसिटी अस्पताल वसुन्धरा, अल नेपाल अस्पताल सामाखुशी र विनायक अस्पताल गोँगबुसँग सहकार्य गरेर बिरामीको उपचार गरिने बताए ।
–––








प्रतिक्रिया