
फाइल तस्बिर
३० वैशाख ०७८, ललितपुर । ललितपुर गोदावरी नगरपालिका–३ मा तीन हजार जना क्षमताको ‘गोदावरी सनराइज’ नामक सम्मेलन केन्द्र निर्माण सम्पन्न गरिएको छ । शहरी विकास मन्त्रालय मातहतको शहरी विकास तथा भवन निर्माण विभाग र केसी समानान्तर जेभीबीच विसं २०७६ कात्तिक २० गते सम्झौता भई कात्तिक २१ गतेबाट सो भवन निर्माणका लागि खाडल खन्ने काम शुरु गरिएको थियो ।
केन्द्र निर्माणको काम सम्पन्न भयो, तर सरसफाइ गर्न अनि भवनमा रङरोहन गर्दा कतै लागेका दागहरु हटाउनाका साथै भवन निर्माण गर्न हालिएको स्काफोल्डिङ झिक्ने आदि काम बाँकी रहेको जेभीका परियोजना प्रबन्धक महेश भट्टले बताए । उनले भने, “भवन निर्माण सम्पन्न भए पनि अझै केही दिनको काम भने हामीले गर्नुपर्नेछ ।”
समानान्तर जेभीले सरकारसँग रु ६५ करोड ८१ लाख ६५ हजार ४५९ मा भ्याटसहित निर्माण सम्पन्न गर्ने ठेक्का लिए पनि त्यसभित्र लिफ्ट हाल्नेलगायतका केही काम गर्ने सम्झौता छुटेकाले पछि पुनः करिब रु १६ करोड थप गरी कूल रु ८१ करोडमा काम सम्पन्न गरिने भएको भट्टले जानकारी गराए ।
केन्द्र वरिपरि रहने तीन प्रवेशद्वार अर्थात् ढोकामध्ये एक निर्माण सम्पन्न भए तापनि दुई निर्माणको काम अघि बढी नै रहेको जेभीका साइट इञ्जिनीयर पवन मैनालीले बताए ।







प्रतिक्रिया