८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


राहदानी विभागको छाप किर्ते गरेको आरोपमा ललितपुरका बजगाईसहित १२ जना पक्राउ



२ चैत ०७८, काठमाडौं। राहदानी विभागको छाप किर्ते गरेको आरोपमा १२ जना पक्राउ परेका छन् ।

काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागमा किर्ते सरकारी छाप प्रयोग गरी छिटो पासपोर्ट बनाई दिने प्रलोभन देखाई ठगी गरेको प्रहरीले जनाएको छ।

विशेष सूचनाका आधारमा महानगरीय प्रहरी कार्यालय कालिमाटीको प्रहरी टोलीले चैत १ गते उनीहरुलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा रोल्पाको माडी गाउँपालिका–१ घर भई हाल गोंगबु, मिलन टोल बस्ने वर्ष २९ को अमृत थापा, माडी–४ घर भई हाल सोही स्थान वर्ष २४ को प्रज्वल खड्का, बाग्लुङको बाग्लुङ नगरपालिका–८ घर भई हाल सामाखुसी बस्ने वर्ष ३० को रञ्जित कार्की, म्याग्दीको बेनी नगरपालिका–५ घर भई हाल मनमैजु, बालाजु बस्ने वर्ष ३३ को रामजी परियार रहेका छन्।

यस्तै, ललितपुरको महांकाल–३ घर भई हाल गोंगबु, नयाँ बसपार्क बस्ने वर्ष ३६ की गोमा बजगाई, पाल्पाको पूर्वखोला गाउँपालिका–५ घर भई हाल गोंगबु मिलन टोल बस्ने वर्ष ३३ को जीवन कुमार श्रेष्ठ, रामेछाप गागल गाउँपालिका–८ घर भई हाल गौशाला बस्ने वर्ष ३७ को मिठे मगर पनि पक्राउ परेका छन्।

सो गिरोहमा संलग्न ललितपुर महाकाल गाउँपालिका–२ घर भई हाल मानिखेल बस्ने रमेश बजगाई, काभ्रेपलाञ्चोक कटुन्जेबेशी गाउँपालिका–४ घर भई हाल माछापोखरी बस्ने वर्ष २५ सन्दिप मैनाली, सिन्धुली दूधौली नगरपालिका–६ घर भई हाल धुम्बाराही पिपलबोट बस्ने वर्ष २१ को अभिषेक मगर, दैलेख आठबीस नगरपालिका–३ घर भई हाल सिनामंगल बस्ने वर्ष २२ को निरञ्‍जन तिवारी र धादिङको थाक्रे गाउँपालिका–४ घर भई हाल कलंकी बस्ने वर्ष २४ को मदन तामाङलाई समेत प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुको साथबाट मोबाइल फोन थान–१४, विभिन्न सरकारी एवम् निजी छाप थान–१०, कन्सुलर विभागको छाप थान–१, राष्ट्रिय परिक्षा बोर्डको छाप थान–१ र परीक्षा नियन्त्रण कार्यालयको छाप थान–१ लगायतका सामग्री बरामद भएको छ।

यसैगरी, किर्ते गरिएका विभिन्न सरकारी कागजपत्रहरू जस्तै, ‘पुलिस क्लियरेन्स सर्टिफिकेट’ थान–३, स्वास्थ्य मन्त्रालयको कोरोना भ्याक्सिन सर्टिफिकेट थान–१ र इ–पासपोर्ट अप्लिकेसन फर्म थान–५ प्रहरीले बरामद गरेको छ।

घटनाको सम्बन्धमा मुलुकी अपराध संहिता २०७४ को परिच्छेद (२५ अन्तर्गत दफा २७६ को उपदफा (१) ‘किर्ते गर्न नहुने कसुर’ बमोजिम महानगरीय प्रहरी बृत्त कालिमाटीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  ५ : १२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।