
२१ चैत ०७८, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्पपछि पुनः निर्माण सम्पन्न भएको ऐतिहासिक काष्ठमण्डप (मरुसतः) को लोकार्पण गरेकी छन् । काष्ठमण्डप परिसरमा आज आयोजित समारोहमा राष्ट्रपति भण्डारीलाई काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काष्ठमडपको साँचो हस्तान्तरण गरेपछि राष्ट्रपतिबाट साँचो प्रदर्शन गरी सोको लोकार्पण गरिएको हो ।
पुनः निर्माण सम्पन्न भएसँगै अब काष्ठमण्डप सर्वसाधारणका लागि खुल्ला गरिएको छ । राष्ट्रपति भण्डारीले असहज स्थितिको सामना गर्दै ऐतिहासिक गौरवपूर्ण विश्व सम्पदा सूचीमा सूचीकृत काष्ठमण्डपको पुनः निर्माण र जीर्णाेद्धार कार्य सम्पन्न भएकामा खुसी व्यक्त गर्दै निर्माणमा संलग्न महानगर र सम्पदाकर्मी तथा निर्माण कार्यमा संलग्न व्यक्तिहरुको प्रशंसा गरिन् ।
विसं २०७२ को भूकम्पबाट जनजीवन, बस्ती र सम्पादालाई प्रभावित पारे पनि नेपालीले दुःख, कष्टलाई सामूहिक रुपमा मिलेर पुनः निर्माण गर्न सक्छौँ भन्ने आत्मविश्वासको पुनः पुष्टि भएको उनले बताइन् । राष्ट्रपति भण्डारीले आन्तरिक र बाह्य पर्यटकलाई आकर्षण गर्न यस्ता ऐतिहासिक सम्पदाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले यसको संरक्षण गर्नु सबैको दायित्व भएको उल्लेख गरिन् । राष्ट्रपति भण्डारीले पछिल्ला अध्ययनबाट प्राप्त काष्ठमण्डप बारेको नयाँ तथ्यलाई आत्मसात् गर्दै नेपालभित्र रहेको ज्ञान र सीपप्रति गौरवबोध गर्नुपर्ने पनि बताइन् ।








प्रतिक्रिया