८ माघ २०८१, मंगलबार | Tue Jan 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


संविधान दिवसमा चिडियाखानामा प्रवेश शुल्कमा छुट


३ आश्विन २०७६, शुक्रबार  

0
Shares

  लपु संवाददाता

  ३ असोज ०७६, ललितपुर । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानाले अवलोकनका लागि आउनेलाई विहिबारदेखि शनिबारसम्म प्रवेश शुल्कमा छुटको व्यवस्था गरेको छ । संविधान दिवस तथा राष्ट्रिय दिवस २०७६ को अवसरमा चिडियाखाना व्यवस्थापन समितिले प्रवेश शुल्कमा छुट दिने निर्णय गरेको हो ।

चिडियाखानाका सूचना अधिकारी लिना चालिसेका अनुसार १२ वर्ष उमेरसम्मका बालबालिकालाई यस समयमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । तीन दिन अन्य सबै स्वदेशी र विदेशी नागरिकबाट ५० रुपैयाँ शुल्क लिइने छ । अन्य समयमा चिडियाखानाले सर्वसाधारणबाट १५०, विदेशीबाट ७५० र विद्यार्थीबाट ९० शुल्क लिने गरेको छ । हाल दैनिक झण्डै पाँच हजार व्यक्ति अवलोकनका लागि आउने गरेको सूचना अधिकारी चालिसेले जानकारी दिनुभयो । चिडियाखानामा १२७ प्रजातिका एक हजार दुई सय १९ जीवजन्तु छन् ।

चिडियाखानाले गत आर्थिक वर्षमा अवलोकन गर्न आउनेहरुबाट १४ करोड आम्दानी गरेको थियो । अघिल्लो आवमा अवलोकनकर्ताबाट १२ करोड आम्दानी भएको थियो । गत आवमा स्वदेशी र विदेशी गरी एक लाख व्यक्तिले चिडियाखानाको अवलोकन गरेका थिए । एक वर्ष अघि भित्र्याइएको ‘रेड पाण्डा’ र ‘रिङटेल्ड लिमर’ अहिले चिडियाखानाका मुख्य आकर्षणका रुपमा रहेका छन् । पछिल्लो समय चिडियाखानाले जनावरलाई राख्न नयाँ घर बनाउने काम तीव्ररुपमा अघि बढाएको चालिसेले बताउनुभयो ।

प्रकाशित मिति : ३ आश्विन २०७६, शुक्रबार  २ : १३ बजे