२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


‘भिजिबिलिटी’ कम हुँदा आन्तरिक उडान प्रभावित



फाइल तस्बिर

२९ मंसिर ०७९, काठमाडौं ।   तराई/मधेसमा बाक्लो हुस्सु/कुहिरोले ‘भिजिबिलिटी’ कम हुँदा आन्तरिक उडान प्रभावित भएका छन् । भद्रपुर, पोखरा, धनगढी, सुर्खेत, लुम्लिङटारबाहेक अन्य विमानस्थलको अपुग भिजिविलिटीका कारण उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले विशेषगरी तराई क्षेत्रका विमानस्थलमा अगामी केही दिन हुस्सु/कुहिरोले भिजिबिलिटी कमजोर हुँदा उडान प्रभावित हुनसक्ने जानकारी दिए ।

भिजिबिलिटी कमजोर रहेकाले बिहानैदेखि तराई क्षेत्रका सबैजसो विमानस्थलमा उडान प्रभावित भएको बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले जानकारी दिए । ‘तराईका विमानस्थलमा भिजिबिलिटी कम रहेकाले बिहानैदेखि उडान प्रभावित भएको छ । उडान प्रभावित हुँदा यात्रुलाई गन्तव्यमा पुग्न सास्ती भएको छ’, उनले भने । यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार बिहीबार भद्रपुर र पोखराबाहेक सबै विमानस्थलको उडान प्रभावित भएको छ । बिहानैदेखि उडान प्रभावित हुँदा यात्रुमर्कामा परेका छन् ।

आन्तरिकतर्फ दैनिक करिब तीनसय उडान हुन्छन् । बुद्ध एयरको सबैभन्दा बढी दुईतर्फी करिब एक सय ५० उडान हुन्छ । यती एयरलाइन्सको दैनिक ५८ उडान हुनेगरेको छ । यस्तै आन्तरिक उडानमा श्री एयरलाइन्स, सौर्य एयरलाइन्स, गुण एयरलाइन्सले पनि विभिन्न गन्तव्यमा उडान गर्छन् । आन्तरिकतर्फ ११ हेलिकप्टर कम्पनीसहित २० वायुसेवा प्रदायक कम्पनीले उडान गर्दै आएका छन् ।

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेपनि तराई भूभागको केही स्थानमा हुस्सु/कुहिरो लाग्नुका साथै देशको पहाडी भू–भागमा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहीबार काठमाडौंको अधिकतम तापक्रम १९ डिग्रि सेल्सियस र न्यूनतम तापक्रम ७ दशमलब ६ डिग्रिसेल्सियस रहेको छ ।

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहिबार  ३ : २४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।