२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरमा सातौँ ‘मेड इन नेपाल’ एक्स्पो शुरु


१० आश्विन २०७६, शुक्रबार  

0
Shares

१०असोज ०७६,ललितपुर। ललितपुरमा आजदेखि ‘मेड इन नेपाल एक्स्पो’को सातौँ संस्करण शुरु भएको छ । दुई दिनसम्म चल्ने एक्स्पोको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले उद्घाटन गर्नुभएको थियो।

मन्त्री यादवले एक्स्पोले ‘नेपालमा सियो पनि बन्दैन’ भन्नेका लागि गतिलो जवाफ दिएको बताउनुभयो । युवाहरुले आफ्नै लगानीमा स्वदेशमै केही गर्न सकिन्छ भन्ने उदाहरण एक्स्पो मार्फत प्रस्तुत गरेको उनले जानकारी दिए।

स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न र उत्साही बनाउन मन्त्रालयले काम गर्दै आएको भन्दै उहाँले आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिइने बताउनुभयो । मन्त्री यादवले भन्नुभयो, “युवा उद्यमीलाई प्रोत्साहन गर्न सरकार तयार छ, गरी पनि रहेको छ, गर्ने तपाईंले नै हो सरकारले सहजीकरण गर्छ । देशमा व्यवसाय गर्ने वातावरण छैन भन्ने कहीँकतै सुनिन्छ तर युवाहरुले आफैँले केही गर्न सकिन्छ भनेर लाग्नुभएको छ । सरकारले उहाँको आँट र हिम्मतलाई सम्मान गर्छ र हौसला दिन्छ ।”

उहाँले कतिपय युवा उद्यमीले स्वदेशी उत्पादन निर्यात पनि गरिरहनु भएको छ । निर्यातमा देखिएका समस्या समाधान र सहजीकरण गर्न पनि सरकार तयार रहेको मन्त्री यादवको भनाइ थियो ।

युवा उद्यमी मञ्चका अध्यक्ष निकोलश पाण्डेले स्वदेशमै उद्यम गरिरहेका र बजारको पहुँच नपाएका उद्यमीलाई अवसर उपलब्ध गराउने उद्देश्यले मेलाको आयोजना गरिएको बताउनुभयो ।

युवाले स्वदेशमा अवसर नपाएको भन्दै विदेशीने मोह बढिरहेको अवस्थामा युवा उद्यमीलाई उद्यम गर्न थप प्रोत्साहन होस् भनेर पनि एक्स्पोको आयोजना गरिएको अध्यक्ष पाण्डेको भनाइ छ । उहाँले सरकारले सहुलियत दरमा ऋण उपलब्ध गराउने र प्रमाणपत्र राखेर बिनाधितो ऋण लिन पाउने व्यवस्थालाई सहज बनाइदिए धेरै युवा उद्यमी बन्नसक्ने बताउनुभयो ।

प्रदर्शनीमा नेपालमा उत्पादित कपडा, मूर्ति, विभिन्न जडीबुटी, अर्गानिक तरकारी, पश्मिना, अचार, महलगायत विभिन्न कम्पनीका उत्पादन गरी सयवटा प्रदर्शनी कक्ष रहेको छ ।

प्रकाशित मिति : १० आश्विन २०७६, शुक्रबार  १० : ०६ बजे