२० बैशाख २०८१, बिहिबार | Thu May 2 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


ललितपुर महानगरको हस्तकला मेला भएन नियमित, आयोजकलाई घाटा



ललितपुर खबर
 

२८ माघ । ललितपुरको पुल्चोकस्थित ललितपुर महानगरको परिसरमा हरेक हप्ता हस्तकला मेला सञ्चालन गर्ने भन्दै उद्घाटन गरिए पनि नियमित संचालन नहुँदा मेलाको औचित्यमाथि प्रश्न उठेको छ ।
ललितपुर पुल्चोकका स्थानीय रमेश महर्जनले हरेक शुक्रबार र शनिबार मेला चलाउने भने पनि सधै मेला नलागेको बताउछन् । उनी मेला हेर्न धेरै पटक आउने गरे पनि मेला नदेखेपछि त्यतिकै फर्कने गरेको बताउछन् ।
हस्तकला संघ ललितपुर महानगर समितीका अध्यक्ष शैलेन्द्र श्रेष्ठ आफूहरुले हस्तकला मेलालाई नियमित गर्न नसकेको स्वीकार गर्छन् । भन्छन्, ‘असारमा उद्घाटन गरेपछि मनसुनले रोक्यो । भदौंमा फेरि सुरु भयो । डेंगु आयो । दशैं तिहार र निर्वाचनले मेला आयोजना हुन सकेन अहिले हामीले फेरि सुरु गरेका छौं । ७ हप्ता भयो ।’
पछिल्लो समय विवाहको सिजनका कारण मेलामा सहभागिता कमजोर देखिएको उनी बताउछन् । ५० भन्दा धेरै स्टल राख्न सहिने यस ठाँउमा शुक्रबार २० वटा मात्रै स्टल थिए ।
मेला आयोजकलाई फाइदा पनि छैन । मेला आयोजना गरेर आफूहरुलाई घाटा लागिरहेको उनको भनाई छ । त्रिपाल, टेवुल कुर्सीलगायत व्यवस्थापन गर्न ठुलो खर्च हुने हुँदा हस्ताको ४० देखि ५० हजार घाटा लाग्ने उनको भनाई छ ।
उनी भोलिको दिनमा राम्रो प्रायोजक पाउने आशाले घाटा व्यर्होरिरहेको बताउछन् । फागुन महिनादेखि मेला राम्रो हुने उनको विश्वास छ ।
यहाँ शनिबार भीड हुने तर शुक्रबार खासै यात्रु नआउने स्टलका व्यावसायी बताउछन् । राजधानीका विभिन्न ठाँउबाट यहाँ हस्तकलाका सामान बिक्रि गर्न आउँछन् । सामान बेच्न भन्दा पनि प्रमोसनका लागि मेला आयोजना गरिएको उनीहरुको भनाई छ ।
अध्यक्ष श्रेष्ठ पनि मेलालाई पसल व्यावसायका रुपमा बुझ्न नहुने बताउछन् । उनी भन्छन्, ‘मेलामा सहभागीहरुले विभिन्न सामान किन्ने व्यक्ति भेट्छन् । अनि व्यावसाय विस्तार गर्छन् ।’
तारा मस्यौरा उद्योगका सञ्चालक विष्णु गजुरेल आफूहरुलाई यस्ता प्रमोशन गर्ने मेलाहरु उपयोगी हुने बताउछन् । उनी व्यावसाय विस्तार गर्न सहयोगी हुने बझाई छ ।
ललितपुर महानगरले निशुल्क ठाँउ दिएको अध्यक्ष श्रेष्ठको भनाई छ ।

 

 

प्रकाशित मिति : २८ माघ २०७९, शनिबार  १२ : १७ बजे