३ जेष्ठ २०८१, बिहिबार | Thu May 16 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फिचर


श्वेताको सपना ‘माझी बस्ती’


७ आश्विन २०७६, मंगलबार  

0
Shares


२०७३, माघ १४ गते पहिलो पटक माझी बस्तिमा पाइला टेक्दा त्यहाँका दाजुभाइ तथा दिदी बहिनिहरुको आँखामा म प्रतिको आशा भरोशा र विश्वासलाई पढेको थिएँ । भुकम्पले ढालेका घरहरुलाई उठाउन मद्दत गरिदिने एउटा दरिलो हात र भुकम्पले थलिएर शिथिल भएका आत्माहरुलाई आँट, भरोशा र हिम्मत दिने एउटा अटुट साथको खोजी गरिरहेका स्थानियहरुसंग अंकमाल गरिरँदा म भित्र एउटा भिन्नै इच्छा शक्तिको उत्पत्ती भएको थियो । त्यही इच्छा शक्ति अनुरुप मैले स्थानीयहरुको भिडमा माझी बस्तीका ढलेका घरहरुलाई उठाउने र उहाँहरुको काँधमा काँध मिलाएर हिंड्ने प्रतिवद्दता जाहेर गरेको थिएँ । साँच्चै, त्यो प्रतिवद्दता जाहेर गरिरहँदा म एक्लो थिएँ र रित्तो थिएँ । पहिलो पटकको त्यो भ्रमण सकेर काठमाडौतिर फर्किरहँदा, मैले बाटोभरी मनमनै एउटा सुन्दर, सफा र शान्त बस्तीको चित्र कोरिरहेको थिएँ ।
माझी टोलका युवाहरुले म प्रति दर्शाएको आशा र भरोशा अनि मलाई दिएको आँट शाहस र हिम्मतले म भित्र उब्जाएको उर्जा नै मेरो लागि पहिलो शक्ति बन्यो । त्यसमा पनि आज म एक्ली छैन, म मेरा सहयोगी र शुभचिन्तकहरुको घेरामा घेरिएकी छु । मसंगै पाइला मिलाएर माझी टोल बनाउने यात्रामा साथ दिने धेरै सहयात्रीहरु पाइरहेकी छु । त्यही सहयोग, सहयात्राा र समन्वयको परिणाम स्वरुप नै माझी टोलले बिस्तारै एउटा सुन्दर र स्वर्गिय बस्तीको स्वरुप लिंदैछ ।


त्यो बेला मैले मनमनै कोरेको सुन्दर बस्तीको खाकाले यतीखेर साकार रुप लिने क्रममा छ । भुकम्पले कुरुप बनाएको माझी बस्तीमा अहिले एकै आकार, एउटै रङ्ग र एकै प्रकारका ५४ वटा घरहरु मुसुक्क मुस्कुराईरहेका छन् । म, ति घरहरुसंगै स्थानियहरुको ओंठमा मुस्कान खुलेको अनुभुती गरिरहेकीछु ।
नेपाल सरकार लगायत सिन्धुपाल्चोकका स्थानीय सरकारी निकाय र जननिर्वाचित प्रतिनिधीहरुबाट प्राप्त निरन्तर सहकार्य, संचारकर्मीहरुले लेखिदिने र बोलिदिने मिठा शब्दहरु, निस्वार्थमन लिएर सकेको सहयोग गर्ने मनकारी दाताहरुबाट प्राप्त आर्थिक, भौतिक र नैतिक सहयोग अनि मेरा शुभचिन्तकहरुबाट प्राप्त उत्प्रेरणाहरुकै कारण आज माझी बस्तीका ३२२ जना सदस्यहरुले नयाँ जीवन पाउँदैछन् ।
एकिकृत माझी बस्ती म एक्लैको पेवा पक्कै होइन, यो तपाईं हामी सबैको साझा सम्पत्ती हो । यसको बिकास र संरक्षणमा तपाईं हामी सबैले सकेको देन दिनु हामी सबैको कर्तब्य पनि हो । हामीले आ–आफ्नो तर्फबाट सानो प्रयास गर्ने हो । भुकम्पले लुटेको माझी दाजुभाई तथा दिदिबहिनीहरुको खुशीलाई फर्काउनमा हामी सफल हुनेछौ । अर्को खुशीमा आफ्नो खुशी देख्नेहरुको हृदयमा मात्र मानवीयता बाँचेको हुन्छ । आफ्नै खुशी र सुखको निमित्त मात्र बाँच्नेहरुको जीवन कहिल्यै सर्थक हुँदैन । आफ्नो जीवनलाई सार्थक बनाउनको लागि पनि समाज र देशको निमित्त सानै भए पनि देन दिनै पर्छ । आफ्नो लागि त जनावर र किरा फट्याङ्ग्रा पनि बाँच्छन् । तर, हामी मानव हौ । प्रकृतिको महान श्रष्टि नै मानव हो । मानविय जीवनको प्रमुख धर्म भनेको सेवा नै हो । अतः यो धर्मलाई आत्मसाथ गर्दै आ–आफ्नो क्षेत्रबाट हामी सबैले सक्दो देन दिने कार्यमा लाग्नै पर्छ ।

एकिक्रित नमुना माझी बस्ती निर्माणमा मेरो अगुवाईलाई मैले, मेरो धर्म र कर्मको रुपमा लिएकी छु । यो बस्तीलाई सबैको साझा बस्तीको रुपमा बिकास गर्न सबै तह र तप्कासंग समन्वय र सहकार्य गर्ने कोसिस गरेकी छु । सरकारी, गैरसरकारी संघसंस्था लगायत निजी कम्पनी, बित्तिय संघसंथा र बिभिन्न समाजसेवी अनि बुद्धिजिवीहरु मात्र होइन बिभिन्न राजनैतीक दलका अगुवाहरुसंग पनि माझी बस्तीको परिकल्पनाबारे छलफल चलाईरहेकी छु । धार्मिक,लैङ्गिक र राजनैतिक आग्रह र पूर्वाग्रहलाई मैले कदापी आत्मसाथ गरेकी छैन ।
यतिखेर, माझी बस्तीका दाजुभाईहरु छिट्टै नयाँ घरमा सर्ने योजना बुनिरहेका छन् । घर त बनिसक्यो तर त्यहाँ चाहिने अन्य आधारभुत पुर्वाधारहरु बनेका छैनन् । घर वरपरका भिरहरुमा रिटेनिङ्ग वाल लगाउनु पर्नेछ । ढुङ्गा छापेको मौलिक बाटोको योजना छ, खुल्ला रंगमञ्च सहितको बाल बगैचा, पानीको फोहोरा, स्वास्थ्य चौकी, सामुदायिक भवन, सार्वजनिक धारा लगायत मुल प्रेवेशद्वार लगायतका संरचनाहरुको निर्माण गर्ने काम बाँकि नै छन् । यी सबै संरचनाहरुको निर्माणका लागि साँढे ४ करोड लाग्ने अनुमान गरिएको छ । यसमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले १ करोड ३० लाख सहयोग दिने भएको छ भने अन्य नपुग रकमको जोहो गर्नका निमित्त मैले सक्दो अभियानहरु गरिरहेको छु । यी सबै पुर्वाधारहरुको निर्माण पश्चात यो बस्ती जिल्लाकै नमुना बस्तीको रुपमा बिकास हुनेमा दुइमत छैन । यी सम्पूर्ण पुर्वाधारहरुको ब्यवस्थापन पश्चात यस बस्तीमा ‘होम स्टे’ संचालन गरी स्थानीयहरुलाई आय आम्दानीको स्रोत खुलाउने योजना पनि छ ।
माझी बस्ती बिकास परियोजनामा सार्वजनिक निजी साझेदारीको अवधारणालाई आत्मसाथ गर्दै घर निर्माणको कार्यमा स्थानीयहरुको लगानीलाई पनि अनिवार्य गरे बमोजिम माझी बस्तीका परिवारले लक्ष्मी बैकबाट ऋण लिएका छन् । त्यो ऋणको बोझलाई कम गराउने कार्यमा पनि मैले केही मेहनत गर्नु पर्नेछ ।


अबका केही महिनामै यो बस्तीमा सम्पूर्ण संरचनाहरुको निर्माण गरी दुलही झै सिंगार्ने हाम्रो योजना छ । यो योजनालाई साकार पार्न म, मेरा सहयोगी हातहरुको खोजीमा हिँडि नै रहेकी छु । मेरा पाइलाहरु निरन्तर अग्रसर भईरहेका छन् । हातहरु अझै सकृय भएका छन् । सुन्दर बस्ती निर्माण गर्ने माझिहरुसंगै मैले पनि देखेको सपना अन्ततः साकार हुने बिन्दुमा आईपुग्न लाग्दा आँखाहरु झन बेचैन भएका छन् । मन मस्तिष्क र तन्तुहरु झन झनै उर्जावान भएको महसुस गरेकी छु । अतः जबसम्म माझी बस्ती बन्दैन, मलाई मिठो निन्द्रा लाग्ने छैन । म लगायत ५३ घर माझी परिवारको खुल्ला आँखाहरुले ‘सुन्दर माझी बस्ती’ को स्वप्निल द्रुश्य देखिरहेका छौ । जुन सपना चाँडै पुरा हुँदैछ । आउनुस् हाम्रो यो सपनालाई तपाईंको पनि सपना बनाऔ र यसलाई साकार बनाउने अभियानमा सहभागी बनौ ।
यी अंशहरु श्वेता खड्काको फेसबुकबाट साभार गरिएको हो ।

प्रकाशित मिति : ७ आश्विन २०७६, मंगलबार  ८ : ३५ बजे