११ पुस २०८१, बिहिबार | Thu Dec 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


नौ महिनाभित्रै अत्याधुनिक धरहरा बन्ने


२५ माघ २०७६, शनिबार  

0
Shares

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्ययोजनामा काठमाडौँको सुन्धारास्थित पुनःनिर्माण भइरहेको धरहरा । तस्बिर ःप्रदीपराज वन्त/रासस

सिबी अधिकारी
२५ माघ ०७६, सुन्धारा काठमाडौं । पुरातात्विक महत्वको राष्ट्रिय सम्पदा धरहराबाट राजधानी काठमाडौँको दृश्वावलोकन गर्ने आम सर्वसाधरणको चाहना अब छिट्टै पूरा हुनेभएको छ ।
राष्ट्रको धरोहर अत्याधुनिक धरहरा अबको नौ महिनाभित्र मुख्य संरचना सक्नेगरी यतिखेर तीव्र गतिमा निर्माण भइरहेको हो । देशको गौरव र पहिचानसँग जोडिएको ऐतिहासिक धरहराको मुख्य संरचना अबको नौ महिनाभित्र सम्पन्न हुने निर्माणको जिम्मा पाएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ । आगामी एक वर्ष्भित्र आम सर्वसाधरणले २२ तले धरहराको टुप्पोबाट राजधानी काठमाडौँको मनोरम दृश्वावलोकन गर्न पाउनेछन् ।
निर्माणाधीन धरहराको आज राष्ट्रपति विद्यादेवी भण्डारीले स्थलगत अवलोकन गर्नुभएको हो । राष्ट्रपति भण्डारीले बिहान, रानीपोखरी र दरबार हाइस्कुलको अवलोकनपछि सुन्धारास्थित धरहरा निर्माणस्थलमा पुग्नुभई अवलोकन गर्नुका साथै निर्माण कार्यको संरचना र वस्तुगत अवस्थाका बारेमा जानकारी लिनुभयो । धरहरा अवलोकनपछि राष्ट्रपति भण्डारीले सम्पदा पुनःनिर्माणको काम उत्साहजनक रुपमा भएको पाइएको बताउनुभयो ।
विसं २०७२ को गोरखा भूकम्पबाट क्षतिग्रस्त भएको धरहराको डेढ वर्षअघि पुनःनिर्माण शुरु गरिएको थियो । दुई वर्ष्भित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित विसं २०७५ पुस १२ गते प्रधानमन्त्री केपी शर्मा आलीले धरहरा पुनःनिर्माणको शिलान्यास गर्नुभएको थियो । साबिकको धरहरा रहेको स्थान सुन्धारामा करिब ४२ रोपनी क्षेत्रफलमा धरहरा निर्माण भइरहेको हो ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सचिव हरिहर शर्माले धरहरा निर्माणको काम द्रुत गतिमा अघि बढेकाले अबको एक वर्षमा सर्वसाधरणले धरहरा चढ्न पाउने बताउनुभयो । उहाँका अनुसार अहिले धरहराको निर्माणको भौतिक प्रगति ३७ प्रतिशत र वित्तीय प्रगति करिब ३१ प्रतिशत रहेको छ । निर्माणअवधिको बाँकी नौ महिनामा धरहराको मुख्य संरचना तयार भइसक्नेछ ।
सचिव शर्माले भन्नुभयो, “अहिले धरहराको सातौ तलाको ढलान कार्य जारी छ । प्रत्येक १५ दिनमा एक तला ढलान गर्नेगरी काम भइरहेको छ । अबको छदेखि सात महिनाभित्र संरचना निर्माणको काम सकिन्छ । त्यससँगै फिनिसिङको काम पनि अघि बढ्नेछ ।”
धरहरा परिसरमा रहेका विद्युत् प्राधिकरण, नेपाल टेलिकम, खानेपानी, हुलाक कार्यालय, नेपाल राष्ट्र बैंकको कार्यालय र कर्मचारी सञ्चय कोषको संरचना हटाउँदा बढी समय खर्चनु परेको सचिव शर्माले बताउनुभयो । अझै पनि बाँकी रहेको कोषको संरचना भत्काउनुपर्नेछ ।
पहिला पाँच रोपनी क्षेत्रफलमा रहेको धरहरा अहिले अन्य संरचना भत्काएर विस्तार गर्दा ४२ रोपनी क्षेत्रफल भएको छ । धरहरा पुनःनिर्माणका लागि मूल्य अभिवृद्धि करसहित रु तीन अर्ब ४८ करोड लाग्नेछ । धरहराको अनुमानित लागत रु पाँच अर्ब ४६ करोड रहेको छ ।
धरहराको भुइँतलामा तीन तले पार्किङ निर्माणको काम धमाधम भइरहेको छ । धरहरा परिसरमा २२ तले टावर, तीन तले पार्किङ र सङ्ग्रहालयको समानन्तर ढङ्गले काम भइरहेको आयोजनाले जनाएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पबाट प्रभावित सम्पदाको पुनःनिर्माणका लागि काठमाडौँ महानगरपालिका, पुरातत्व विभागलगायत सरोकारवाला निकायको समन्वयमा पुनःनिर्माणको काम प्रभावकारी रुपमा भइरहेको बताउनुभयो ।
उहाँले सांस्कृतिक सम्पदालगायत अन्य पूर्वाधारको कामलाई चाडै सक्नेगरी काम अघि बढाइएको उल्लेख गर्नुभयो । धरहरा निर्माणमा खटिएका इञ्जिनीयर दीपक उपाध्यायले धरहराको डबल बेसमेन्ट सकिएको छ, मूख्य संरचनाको सात तला ढलानको काम भइसकेको र अन्य संरचनाको काम पनि तीव्र गतिमा भइरहेको छ ।
अर्को वर्ष सर्वसाधरणले धरहरा चढ्न पाउनेछन् । धरहरा निर्माणका लागि दिन र रातमा गरी दुई सिफ्टमा काम हुन्छ । निर्माणमा प्राविधिकसहित करिब २०० जनशक्ति खटिएका छन् । सन् १८३२ तत्कालीन राणा प्रधानमन्त्री भीमशेन थापाले आफ्नी रानी ललित त्रिपुरा सुन्दरीको खुशीका लागि धरहरा निर्माण गरिएको इतिहासको दस्तावेजमा उल्लेख छ । शुरुको ११ तले धरहरा विसं १९९० को भूकम्पको कारण क्षतिग्रस्त भएपछि नौ तलामा सीमित भएको थियो ।
ऐतिहासिक महत्व कायम रहने गरी हेर्दा उस्तै तर बलियो धरहरा निर्माण गर्न लागिएको छ । धरहरा शिलान्यासका क्रममा प्रधानमन्त्री ओलीले अब बन्ने धरहरा आधुनिक प्रविधिसहित निर्माण हुने भएकाले बलियो हुने र पाको उमेरका मानिस पनि यसको टुप्पामा पुग्न सक्ने बताउनुभएको थियो । प्रधानमन्त्री ओलीले धरहराको टुप्पोबाट काठमाडौँको सुन्दरता हेर्न पाउने बताउनुभएको थियो ।
धरहरा पुनःनिर्माण गर्ने क्रममा अनेकन समस्या र चुनौतीलाई चिर्दै पुनःनिर्माण प्राधिकरणले काठमाडौँ महानगरपालिकाको समन्वय र सहयोगमा धरहरा निर्माणलाई गति दिएको हो । प्रधानमन्त्री ओलीले तत्कालीन ‘ऐतिहासिक धरोहर पुनःनिर्माणमा संकल्प’ कार्यक्रममा ‘मेरो धरहरा म बनाउँछु’ अभियान शुरु गर्नुभएको थियो । नागरिकको रकमबाट धरहरा निर्माणको उद्घोष गर्दै प्रधानमन्त्री ओलीले आफ्नो एक महिनाको तलब रु ६१ हजार ८२० पुनःनिर्माण कोषको खातामा हाली विदेशस्थित नेपालीसँगसमेत सहयोगको आग्रह गर्नुभएको थियो ।
यसपछि विभिन्न सङ्घसंस्था र व्यक्तिले धरहरा पुनःनिर्माण कोषमा रकम जम्मा गरिएको थियो । प्रधानमन्त्रीको अवधारणा अनुरुप धरहराको इतिहास झल्काउँदै आधुनिकता टल्काउने किसिमबाट यसको निर्माण भइरहेको निर्माण कम्पनीले जनाएको छ । अब निर्माण हुने धरहरा ७९ दशमलव २ मिटर (२५७.४ फिट) अग्लो हुनेछ । बाहिरबाट ११ तलामा धरहराको भित्रभित्र २२ तला हुनेछन् । तीमध्ये २० औँ तलासम्म पुग्ने दुईतर्फी लिफ्ट हुनेछन् । एक पटकमा १० व्यक्ति अट्ने लिफ्टको क्षमता हुनेछ ।
लिफ्टमा चढेर २० औँ तलामा पुगेपछि त्यहीबाट काठमाडौँ अवलोकन गर्ने कक्षको व्यवस्था हुनेछ । त्यो कक्षमा एक पटकमा ५४ जना अट्नेछन् । त्यसको भुइँ तलामा धरहरासम्बन्धी सङ्ग्रहालय हुनेछ । भूकम्पका क्रममा भत्किएको धरहराको ठूटोलाई शिशाले घेरेर राखिनेछ ।
धरहराको बेसमेन्टमा ३४७ वटा कार र ७०० वटा मोटरसाइकल अट्ने पार्किङ हुनेछ । त्यस्तै परिसरमा बगैँचा र पानीको फोहोरा सञ्चालन हुनेछ । पानीको फोहोरा ५० फिट अग्लो हुनेछ ।राष्ट्रिय समाचार समिती

प्रकाशित मिति : २५ माघ २०७६, शनिबार  ८ : ३७ बजे