१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काभ्रेको रोशीमा तामाङ्ग समुदायको ‘डम्फु जीवन्त सङ्ग्रहालय’ निर्माण हुने


१० असार २०७७, बुधबार  

0
Shares


१० असार ०७७, बनेपा । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ कालढुङ्गामा डम्फु जीवन्त सङ्ग्रहालय निर्माण हुने भएको छ । तामाङ जातिको रीतिरिवाज र पहिचान झल्किने गरी निर्माण हुने सङ्ग्रहालयमा सांस्कृतिक बाजा डम्फुलाई पहिचानका रूपमा स्थापित गर्दै जीवन्त बनाइने बताइएको छ ।
रोशी सरकारको पहलमा वडा नं ११ कालढुङ्गामा बनाउनका लागि ६० रोपनी जग्गाको व्यवस्था गरी गुरुयोजनासमेत तयार गरिसकेको गाउँपालिका अध्यक्ष दलबहादुर लामाले बताउनुभयो । राष्ट्रिय योजना आयोगबाट बजेट स्वीकृत भएसँगै डम्फु जीवन्त सङ्ग्राहलय निर्माण गर्नका लागि प्रक्रिया अगाडि बढिसकेको उहाँले बताउनुभयो । “त्यसका लागि डेढ करोड बजेट परेको छ”, उहाँले भन्नुभयो, “त्यससँगै गाउँपालिकाले पनि बजेटमा सम्बोधन गर्छ ।” सबै प्रक्रिया अगाडि बढिसकेकाले अब साउनभित्रमा बोलपत्र प्रक्रिया अगाडि बढ्ने उहाँले बताउनुभयो । साठ्ठी रोपनी सार्वजनिक जग्गालाई व्यवस्थापन गरी निर्माण गरिने उक्त सङ्ग्रहालय नेपालकै नमूना सङ्ग्राहलय बन्ने अध्यक्ष लामाको भनाइ छ ।
सङ्ग्रहालय बनाउनका लागि गाउँपालिकाले जग्गा सम्याउने, माटो परीक्षण गर्ने र गुरुयोजना तयार गर्ने काम सम्पन्न गरिसकेकाले अब उक्त स्थानमा संरचना निर्माणको काम अघि बढ्नेछ । सङ्ग्रहालयसँगै डम्फु पार्क निर्माण हुने र वरिपरि बुद्धचित्त मालाको बिरुवा, टटलाको फूल रोपेर सङ्ग्रहालयका लागि आवश्यक पर्ने अन्य विविध संरचना निर्माण गर्ने पालिकाको योजना छ ।
तामाङ समुदायको बाहुल्य रहेको रोशी गाउँपालिकामा सो समुदायको कला, वेशभूषा, संस्कृति र पहिचानको संरक्षणका लागि सङ्ग्रहालय निर्माण गर्न लागिएको हो । डम्फु तामाङ जातिको विवाह, व्रतबन्ध, मृत्यु संस्कारलगायत जन्मदेखि मृत्युसम्मको कार्यमा प्रयोग हुने सांस्कृतिक बाजा भएकाले सङ्ग्रहालयको नामकरण नै डुम्फु जीवन्त सङ्ग्रहालय राखिएको अध्यक्ष लामाले बताउनुभयो । करिब रु १० करोड लागतमा आर्थिक वर्ष २०७७÷७८ भित्र सम्पन्न गर्ने गरी भइरहेको सङ्ग्रहालय निर्माणले पर्यटन प्रवद्र्धनसमेत हुने गाउँपालिका अध्यक्ष लामाले बताउनुभयो ।

प्रकाशित मिति : १० असार २०७७, बुधबार  ८ : १४ बजे