१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


जापानको १६ करोड २० लाख ऋण सहयोगमा पाटन माध्यमिक विद्यालय पुनःनिर्माण




६ वैशाख ०७७, ललितपुर । भूकम्पले क्षतिग्रस्त ललितपुर महानगरपालिकास्थित पाटन माध्यमिक विद्यालयको पुनःनिर्माण सम्पन्न भएको छ ।
जापान सरकारको ऋण सहयोगमा पुनःनिर्मित विद्यालय भवनको प्रधानमन्त्री केपी शर्मा ओलीले आज उद्घाटन गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै उनले राणा शासनकालमा निर्माण भएको विद्यालय भवन भत्किएर पुनःनिर्माण हुँदा दुई शताब्दीलाई जोड्ने काम भएको बताए। विकास र समृद्धिको सपनालाई पूरा गर्न यस्ता शैक्षिक केन्द्रले सहयोग गर्ने प्रधानमन्त्री ओलीको भनाइ थियो ।

कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले सामुदायिक र संस्थागत दुवै शैक्षिक संस्थाको केन्द्रका रुपमा महानगरपालिका स्थापित भएको बताए । आकर्षकरुपमा पुनःनिर्माण भएको विद्यालय भवनमा शैक्षिक गुणस्तर पनि त्यसैअनुरुप हुनुपर्ने उनको भनाइ थियो ।

सो अवसरमा जाइकाका नेपाल प्रमुख आशाकुमा युनिका, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इन्द्रमान महर्जन र प्रधानाध्यापक ईश्वरमान बज्राचार्यले विद्यालयको गुणस्तर सुधार गर्न लागिपर्ने प्रतिबद्धता जनाए । विसं १९८१ मा स्थापना भएको विद्यालयको भवन दुई वर्षपछि १९८३ सालमा निर्माण भएको जानकारी सो अवसरमा गराइएको थियो । यो भवन विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त भएको थियो ।

जापान सरकारको रु १६ करोड ऋण सहयोगमा पुनःनिर्माण भएको विद्यालयमा २७ कक्षाकोठा छन् । विद्यालयमा प्रयोगशाला, पुस्तकालय, कम्प्युटर कक्ष, अध्यापक एवं प्रधानाध्यापक कक्ष, प्रशासन कार्यालय, महिला र पुरुषका लागि अलगअलग शौचालय जस्ता संरचनासमेत निर्माण भएको छ । अशक्त र कर्मचारीका लागि विद्यालयमा छुट्टै कक्षको समेत व्यवस्था गरिएको छ ।

विद्यालयमा हाल ४२४ छात्र र ४०९ छात्रा गरी कूल ८३३ विद्यार्थी अध्ययनरत छन् । घडी राख्ने टावर, फर्निचर, विद्युत्, पानी वितरण, सोलार ब्याक अप, खेल मैदान, पैदलमार्ग, पर्खाल, मूलढोका, पम्प सेट र सुरक्षाकर्मी कक्षसमेत निर्माण गरिएको विद्यालयका प्रधानाध्यापक बज्राचार्यले बताए ।

जाइकाको आकस्मिक विद्यालय पुनःनिर्माण आयोजनाअन्तर्गत भूकम्प अतिप्रभावित छ जिल्लामा विद्यालय पुनःनिर्माण भइरहेको छ । योजनाअन्तर्गत २७४ विद्यालय पुनःनिर्माण हुनुपर्नेमा हालसम्म २१८ विद्यालय पुनःनिर्माण सम्पन्न भएको सो अवसरमा जानकारी गराइएको थियो ।

उक्त योजनाअन्तर्गत भूकम्प अतिप्रभावित ललितपुर, गोरखा, नुवाकोट, धादिङ, रसुवा र मकवानपुरमा विद्यालय पुनःनिर्माण भइरहेको जनाइएको छ । छ जिल्लामा ५३ प्याकेजमा काम भइरहेको बताइएको छ । यसका लागि जापान सरकारले रु एक अर्ब ५२ करोड ऋण सहयोग गरेको जनाइएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  ४ : ५१ बजे