२ माघ २०८१, बुधबार | Wed Jan 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंमा कोरोना सङ्क्रमण बढेपछि टोलटोलमा परीक्षण



५ जेठ ०७८, काठमाडौं । हरेक दिन कोरोना सङ्क्रमितको सङ्ख्या डरलाग्दो गरी बढ्न थालेपछि काठमाडौँ महानगरपालिकाले बढी भिडभाड हुने स्थानमा परीक्षणलाई तीव्र बनाएको छ ।
कोरोनाको सङ्क्रमण अवस्था पहिचान गरेर महामारी नियन्त्रण गर्न कामपा र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले संयुक्तरूपमा एन्टिजेन परीक्षण थालेका हुन् । परीक्षणका क्रममा मङ्गलबार कालीमाटी तरकारी बजारमा ४०२ जनामा एन्टिजेन परीक्षणमा गरिएकामा १२ जनामा पोजिटिभ देखिएको कामपाले जनाएको छ । आज टुकुचा तरकारी बजारमा परीक्षण गरिने छ ।
स्वास्थ्य मन्त्रालय र सीसीएमसीले पहिचान गरेका उच्च सङ्क्रमणको सम्भावना रहेका स्थानहरुमा परीक्षण शुरु गरिएको हो । यस किसिमको परीक्षण १० हजार जनामा गर्ने लक्ष्य रहेको छ । कामपा स्वास्थ्य महाशाखा प्रमुख हरि कुँवरले भने, “परीक्षणबाट आएको नतिजाले लक्षणसहितका बिरामीलाई अस्पताल पठाउन र लक्षण नभएका बिरामीलाई होम आइसोलेशनमा बस्न तथा निगरानी गर्न सहज हुनेछ ।”
उनका अनुसार कामपाको सहकार्यमा धेरै सङ्क्रमित भएका असन, डिल्लीबजार न्युरोड, बालुवाटार र कोटेश्वरमा परीक्षण गरिने छ भने भक्तपुरको भक्तपुर दरबार स्क्वायर, ललितपुरको पाटन दरबार स्क्वायरलगायतका स्थानमा सम्बन्धित स्थानीय तहको सहकार्यमा एन्टिजेन परीक्षण हुनेछ ।
कामपाले कोरोनाका बिरामी बढेसँगै पिसिआर विधिबाट पनि परीक्षणलाई तीव्र बनाएको छ । गत शनिबारसम्म स्वाब सङ्कलनका लागि पाँच वटा केन्द्र बनाएर काम गरिरहेको कामपाले हरेक दिन सङ्क्रमितको सङ्ख्या बढ्दै गहेकाले आइतबारदेखि १६ वटा स्थल तोकेर परीक्षणलाई तीव्र बनाएको छ ।
कामपाको ३२ वडाबाट मात्रै अहिले हरेक दिन ६०० जनाको परीक्षण हुने गरेको र परीक्षण गरिएकामध्ये ४२० जनामा पुष्टि हुने गरेको कामपा जनस्वास्थ्य महाशाखाले जनाएको छ । कामपाका ल्याव टेक्निसियन राधिका कुँइकेलका अनुसार परीक्षणका लागि आवश्यकताअनुरूप टोली तयारी अवस्थामा रहेको छ । “कोरोनाको शङ्का देखिएका र वडाले खटाएअनुसार अहिले परीक्षणको कामलाई व्यापक बनाइएको छ”, कुँइकेलले भने ।
परीक्षण मात्रै होइन, परीक्षणका क्रममा समस्या बढी भएका बिरामीका लागि एम्बुलेन्समा राखी अस्पतालसम्म लाने र ल्याउने व्यवस्थासम्म कामपाले नै गर्दै आएको छ । यसका लागि नागरिकले पैसा तिर्नु पर्दैन । यसरी कोरोना पोजिटिभ भएका बिरामीका लागि एम्बुलेन्ससँग कामपाले दुई हप्ताअघि नै सम्झौता गरिसकेको छ ।
यस सेवा कामपाको २३ वडामध्ये सात स्थानबाट नागरिकले प्राप्त गर्न सक्नेछन् । कोरोनाका बिरामीले मात्रै नभई अन्य दीर्घ रोग भएका कसैलाई अस्पतालसम्म जान र आउन परेमा पनि कामपाले निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेको छ । त्यसका लागि आवश्यक पर्ने जो कोहीले १ हजार १८० कामपाको हटलाइन नम्बरमा सम्पर्क गर्नुपर्ने छ । हाल कामपामा ११ हजार ६३१ कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् ।

 

प्रकाशित मिति : ५ जेष्ठ २०७८, बुधबार  २ : २९ बजे