२१ कार्तिक २०८१, बुधबार | Wed Nov 6 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


बुद्धनगरको वाग्मती किनारबाट शनिबारको वागमती सफाईका क्रममा चार मेट्रिक टन फोहर निकालियो



ललितपुरको थापाथलीस्थित यूएन पार्कनजिकबाट देखिएको वागमती नदि ।तस्विर : ललितपुर खबर

१ फागुन ०७८, काठमाडौं । सफाइ महाअभियानको शनिबार ४५७औँ हप्तामा बुद्धनगर पुलमुनिको नदी किनारमा सफाइ गरी चार मेट्रिक टन फोहर निकालिएको छ ।
सफाइका अवसरमा वाग्मती नदी किनारमा बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठलाई सम्मान एवं स्वागत गरिएको थियो । सो अवसरमा उनी पनि सफाइमा सहभागी भएका थिए । सफाइमा अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमिल्सिना, नदी संरक्षण संस्थाका अध्यक्ष मेघ आलेलगायत अभियानकर्मीको सक्रियता रहेको किशोरसिंह शाहीले जानकारी दिएका छन् ।
काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, काठमाडौँ महानगरपालिका वातावरण विभाग टेकु, वाग्मती फोहर उन्मूलन उपभोक्ता समाज, स्थानीयवासी, अधिकारसम्पन्न वाग्मती समितिका कर्मचारीको पनि सफाइमा संस्थागत सक्रियता थियो । सफाइका क्रममा अभियानकर्मीलाई गुर्जोको चिया सेवन गराइएको थियो । यसका लागि गुर्जो अभियानकर्मी राजेशमोहन प्रधान तथा अञ्जु राजलवटले सहयोग गरेकाा हुन् ।
यसैगरी मनोहरा सफाइ अभियानको २५६औँ हप्तामा बालकुमारी पुलमुनिको नदी किनार क्षेत्रमा सफाइ गरिएको छ । सफाइबाट एक गाडी फोहर व्यवस्थापन गरिएको अभियानकर्मी चन्द्र दङ्गालले जानकारी दिए । सफाइका क्रममा गुर्जो अभियानकर्मी प्रधान तथा राजलवटले चियाको व्यवस्था गरेका थिए ।
विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको वाग्मती सफाइ अभियान जारी छ । हप्तामा एक दिन शनिबार बिहान दुई घण्टा देशका लागि स्वयंसेवा भन्ने नाराका साथ अभियानकर्मी वाग्मती किनारमा सक्रिय हुने गरेका छन् । वाग्मतीबाट प्रभावित भई उपत्यकामा यसका सहायक नदी पनि सफाइ भइरहेको छ ।
यसैगरी काठमाडौँ उपत्यका बाहिरका मुख्य सहर, नदी र सांस्कृतिक सम्पदास्थलमा पनि सफाइ भइरहेको छ । हाल उपत्यका बाहिर १०९ स्थानमा सफाइ भइरहेको जनाइएको छ । उपत्यकामा भने २५ स्थानमा सफाइ भइरहेको छ ।

 

प्रकाशित मिति : १ फाल्गुन २०७८, आइतबार  ७ : १२ बजे