२१ कार्तिक २०८१, बुधबार | Wed Nov 6 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


‘धुलिखेलको संस्कृति जीवित राख्ने खालको विकास आवश्यक’



काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकाको ३६औं स्थापना दिवसको विहीवार धुलिखेलमा उदघाटन गर्दै पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं एमाले नेता गोकुल बास्कोटा र नगरपालिका प्रमुख अशोक व्याञ्जु । लेन्स :पेमा लामा\रासस

६ फागुन ०७८, बनेपा । पूर्वमन्त्री एवं नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाले धुलिखेलको संस्कृति जीवित राख्ने खालको विकासको काम गर्न सुझाव दिनुभएको छ । काभ्रेपलाञ्चोकको धुलिखेलमा बिहीबार भएको धुलिखेल नगरपालिकाको ३६औँ स्थापना दिवस कार्यक्रममा उहाँले कला र सीपको हस्तान्तण गर्नुपर्ने भएकाले नगरभित्रको शङ्खुको इँटे र धुलिखेल बजारलाई सिमेन्टको कङ्क्रिट नभई पहिला इँटा छापेको ठाउँमा इँटा तथा ढुङ्गा छापेको ठाउँमा ढुङ्गा नै प्रयोग गर्न आग्रह गर्नुभयो ।
विकासमा कसैले पनि राजनीति गर्नुपर्ने अवस्था नरहेको समेत उनको भनाइ छ । उनले मान्छे प्रगतिबाट कहिल्यै नअघाउने भएकाले नगरपालिकाले अहिलेसम्ममा प्राप्त गरेका उपलब्धिलाई थप अगाडि बढाउन आवश्यक रहेको बताए । नेता बाँस्कोटाले नेपालको राजनीतिक नेतृत्वको स्ट्राइकर कहाँ छ भनेर खोज्ने बेला आएको उल्लेख गर्दै राजनीति सही बाटोमा अगाडि नबढेको उल्लेख गरे ।
कार्यक्रममा नगर प्रमुख अशोक व्याञ्जूले आर्थिक वर्ष २०७४÷७५ देखि २०७७÷७८ सम्ममा करिब रु दुई अर्ब ९२ करोड ८३ लाख ३० हजार बजेट भएकामा रु दुई अर्ब ७९ करोड ४१ लाख ४८ हजार खर्च भएको बताए । नगरपालिकाको नेतृत्व लिएपछि नगरभित्रमा ३४ किमी सडक कालोपत्र भएको जनाउँदै उहाँले पाँच किलोमिटर ढलान, ७१ किलोमिटर ग्राभेल र ३२० किलोमिटर कच्ची सडक निर्माण भएको बताए । उनले सो अवधिभित्र नगरपालिकाले दुई हजार ५१९ घरधुरीमा थप धारा जडान गरी कूल पाँच हजार ७१६ घरधुरीमा खानेपानी सुविधा उपलब्ध गराएको जानकारी दिए । त्यस्तै साना–ठूला गरी ५१ उद्यान, दुई ट्रिटमेन्ट प्लान्ट र दुई झोलुङ्गे पुल निर्माण गरेको जनाइएको छ ।
त्यस्तै नगरपालिकाले धुलिखेलस्थित क्याम्पसमा स्नातक तहसम्म अध्ययन गर्ने विद्यार्थीलाई निःशुल्क छात्रवृत्तिको व्यवस्था गर्नाका साथै काभ्रेभञ्ज्याङमा १५ शय्याको अस्पताल निर्माणाधीन रहेको उनले बताए । नगरपालिकाको १२ वडामध्ये आठ वडा कार्यालयमा एकीकृत इन्टरनेट सेवा प्रवाहका लागि आफ्नै फाइवर जडान तथा बाँकी चारमा संस्थागत इन्टरनेट कनेक्टिभिटी मिलाइएको जनाइएको छ । त्यससँगै सेवाग्राहीलाई घरबाटै कर भुक्तानीका लागि ई–पेमेन्ट सेवा सञ्चालन र नगरपालिकाका गतिविधिको जानकारी दिनका लागि नगरपालिकाको एप्स तथा वेबसाइट र फेसबुक सञ्चालन गरिएको बताए ।
कर्मचारीसहित विभिन्न व्यक्ति सम्मानित
नगरपालिकाले विभिन्न कार्यमा सहयोग पु¥याउने कर्मचारी तथा सहयोगी, दाता एवं व्यक्तिलाई सम्मान गरेको छ । नगरपालिकाले स्थापना दिवसको अवसर पारेर विभिन्न व्यक्तित्वलाई सम्मान गरेको हो ।
सो क्रममा नेपाल सरकारका सचिव एवं धुलिखेल नगरवासी रवीन्द्र घोलिजुलाई धुलिखेल रत्न, रविओपी गाविसका पूर्वअध्यक्ष केदारप्रसाद कोइरालालाई धुलिखेल नक्षेत्र, कलाकार दिनेशकाजी योगललाई धुलिखेल प्रज्ञाश्री र कृषि तथा पर्यटन व्यवसायी रामबहादुर गौतम, गैससकर्मी वसन्त कुँवर, जैविक कृषि फार्म सञ्चालक रेणुका गुरुङ, धुलिखेल क्याम्पसका प्रमुख सागर तिवारी, रमाइलो छत्रछायामुनि सामाजिक संस्था र सेतीदेवी माविका प्रध्यानाध्यापक धनबहादुर विष्टलाई धुलिखेल ताराले सम्मान गरिएको छ ।
त्यस्तै नगरपालिकाका शिक्षा तथा खेलकुद शाखाका भोजकुमार ठकुरी र जिन्सी शाखाका मीनगोपाल तखाछेंलाई जनसेवा श्रीले सम्मान गरिएको छ । नगरपालिकाले सो अवसरमा सांस्कृतिक क्षेत्रमा योगदान पु¥याउने, समाजसेवाको क्षेत्र, विद्यालय, स्वास्थ्यचौकी र खानेपानी आयोजनाका लागि जग्गा दान गर्ने जग्गादातालाई सम्मान गरेको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७८, शुक्रबार  ७ : ०८ बजे