१७ पुस २०८१, बुधबार | Wed Jan 1 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भोटाहिटीमा मेयर शाक्यले गरे अन्नपूर्ण देवघर शिलान्यास




२० फागुन ०७८, काठमाडौं । काठमाडौँ । काठमाडौंको भोटाहिटीमा काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले अन्नपूर्ण देवी (असं भलु अजिमा) को देवघर पुननिर्माणका लागि शिलान्यास गरेका छन् ।
काठमाडौँ महानगरको वडा २७ भोटाहिटीमा रहेको देव घर बनाउन आज महानगरका मेयर विद्यासुन्दर शाक्यले शिलान्यास गरेका हुन् । यस देव घरमा असन चोकमा रहेकी अन्नपूर्ण अजिमाका गरगहना, देवीको जात्रामा निकालिने मूर्तिहरु, त्यससँग सम्बन्धित बाजागाजा र सामग्री राख्ने गरिन्छ । यस्तै बाजा प्रशिक्षण, सम्बन्धित गुठीयारहरुको बैठकलगायतका काममा घरको प्रयोग हुने गरेको छ । महानगरले यसको पुननिर्माणका लागि पहिले नै प्रयास गरेको थियो । गुठीयारविच भएको मतभेदका कारण काम अघि बढ्न सकेको थिएन ।
शिलान्यासपछि बोल्दै मेयर शाक्यले, सांस्कृतिक सम्पदाहरुको मर्मत सम्भार र पुननिर्माणका लागि गुठीयारको स्रोतले नपुग्ने देखेपछि राज्यकातर्फबाट महानगरले सहयोग गरेको उल्लेख गरे । ‘हामीले सम्पदा पुननिर्माण गर्न लगानी गर्छौँ भनेर कार्यकालको सुरुदेखि नै भनेका थियौँ । त्यसबेला महानगरले लगानी गरेपछि सांस्कृतिक संरचना आफैँ लिन्छ भनेर भ्रम फैलियो । हामीले त्यसो भनेका थिएनौँ । पुननिर्माण गरेर सञ्चालन व्यवस्थापनका लागि सम्बन्धित गुठीयारलाई नै जिम्मा लगाउँछौँ भनेका थियौँ । गुठीयारहरुले अहिले कुरा बुझ्दै हुनुहुन्छ । त्यसैले मागको चाप पनि बढेको छ ।’ मेयर शाक्यले भने।
सम्पदा पुननिर्माण गर्न आफूले लगानी गर्न खोजेर पनि काम गर्न नपाएको प्रसङ्गमा मेयर शाक्यले, यिटा चपाः (सार्वजनिक घर) को उदाहरण दिए । उनले भने, ‘हामीले कोविड आएपछि आइसोलेसनको कुरालाई महत्व दियौँ । तर, नेपाल मण्डलमा बाहिरबाट आउने जानेले आइसोलेसनमा बस्ने परम्परा पहिले देखि थियो । यिटा चपा यसको जीवन्त प्रमाण हो । हामीले यसको पुननिर्माण गर्न चाह्यौँ तर सकेनौँ । यसको कारण भनेको स्वामित्व गुठी संस्थानसँग हुनु हो । गुठी संस्थान न आफूले बनायो न हामीलाई बनाउन सहमति दियो । त्यसैले अहिले महत्वपूर्ण ठाउँमा भएर पनि वेवारिसे जस्तो भएको छ ।’
‘सम्पदा पुननिर्माणमा हाम्रो कार्यकालमा जति अरु समयमा काम भएको छैन । भित्री र बाहिरी सहरी बस्तीको अवस्था, सामाजिक परिवेशअनुसार नवनिर्माण र पुननिर्माणमा काम गरेका छौँ ।’ शाक्यले भने, ‘काठमाडौँको इतिहास सम्पदासँग जोडिएको छ । यसलाई बचाएर पर्यटन व्यवस्थापनसँग अन्तरसम्बन्धित गराउँछौँ ।’
तहगत सरकारका जिम्मेवारीमध्ये संस्कृति, सम्पदा, भाषा, कला, साहित्य बचाउने जिम्मा स्थानीय सरकारकै हो । उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले भने, ‘हामीले सम्पदा बचाउन लिएको नीति कार्यान्वयन भएको छ । यसका परिणामहरु आउन छन् । बाँकी रहेका सम्पदा बचाउनु र नासिएकालाई पुनस्र्थापना गर्नुलाई हामीले जिम्मेवारीका रुपमा लिएर काम गरिरहेका छौँ ।’
भित्री सहरी क्षेत्रमा काठमाडौँको मौलिक परम्परासँग जोडिएका बस्ती छन् । भौतिक संरचना छन् । तिनलाई जोगाउनु हाम्रो प्रमुख काम हो । वडाध्यक्ष चिनियाँमान बज्राचार्य भन्छन्, ‘जीर्ण भएर बनाउनु पर्ने अवस्थामा पुगेका सबैजसोमा काम थालिएको छ । कतिपयको पुननिर्माण सकिएको छ भने कतिपय निर्माण सम्पन्नताको चरणमा छन् ।’
असं भलु अजिमासँग सम्बन्धित धार्मिक सांस्कृतिक गतिविधिहरु ज्यापू, तुलाधर, शाक्य र बज्राचार्यले सञ्चालन गर्छन् ।
देवघरको पुननिर्माण अन्नपूर्ण द्यः छेँ उपभोक्ता समितिले गर्नेछ । समितिका अध्यक्ष रमेश महर्जनकाअनुसार देव घरको पुननिर्माण २०७९ पुस मसान्तसम्ममा सक्ने लक्ष्य छ । २ आना २ दाम जग्गामा निर्माण हुने भवन ४ तलाको हुनेछ ।
यसको पुननिर्माणका लागि महानगरले करिब ७६ लाख रुपैयाँ उपलब्ध गराउने छ । यसमा जनसहभागिता थपिनेछ ।
महर्जनकाअनुसार नेपाल संवत ९३१ मा देवघर पुननिर्माण भएको शिलापत्र पाइएको छ । यसको निर्माण कहिले भएको हो, मिति पाउन सकिएको छैन ।

 

 

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार  ९ : १९ बजे