२५ पुस २०८१, बिहिबार | Thu Jan 9 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुर महानगरमा कांग्रेसमा को, को ?



६ चैत ०७८,ललितपुर।  वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा दलहरूले निर्वाचन केन्द्रित गतिविधिलाई तीव्रता दिएका छन् भने उम्मेदवारका आकांक्षीहरूले पनि सक्रियता बढाएका छन् । आगामी चुनावमा कुन पालिकामा को उम्मेदवार बन्ने चर्चा सुरु हन थालेको छ । कांग्रेसले स्थानीय तहबाट उम्मेदवार सिफारिस गर्नुपर्ने भन्दै त्यसका लागि तयारी थाल्न पालिका र जिल्ला समितिलाई निर्देशन दिएपछि दलहरूभित्र आन्तरिक प्रतिस्पर्धा देखिन थालेको छ ।

सबैभन्दा धेरै चासो महानगरपालिका र उपमहानगरपालिकामा को उम्मेदवार भन्नेमा देखिएको छ । अधिकांश महानगर र उपमहानरमा अहिले भएका मेयरहरू नै दोहोरिने चर्चा चले पनि अन्य आकांक्षीहरूले पनि दौडधुप तीव्र पारेका छन् ।

काठमाडौंको छिमेकी ललितपुर महानगरपालिकामा २०७४ को निर्वाचन नेपाली कांग्रेसले जितेको हो । त्यहाँ चिरिबाबु महर्जन मेयर छन् । नेपाली कांग्रेसभित्र महर्जन नै पुनः उम्मेदवार बन्ने चर्चा चले पनि भरतलाल न्याछ्यों र प्रेमकृष्ण महर्जनको चर्चा पनि उत्तिकै रूपमा चलेको छ । न्याछ्यो चिरिबाबुभन्दा पनि पुराना कांग्रेसी भएकाले उनले अहिले मेयरको टिकट पाउनुपर्ने चर्चा वडातहबाटै उठ्न थालेको बताइएको छ ।

२०३६ सालको जनमतसंग्रहदेखि नेपाली कांग्रेसको राजनीतिमा रहेका न्याछ्योंले आफूले मेयरको टिकट पाउनुपर्ने तर्क गर्दै आएका छन् । उनले व्यवस्थापन संकायमा उच्च शिक्षा हासिल गरेको, नेपाली कांग्रेसको संगठन निर्माणमा सधैं लागिरहेको र जनताका सवालमा आफू धेरै नै जानकार भएकाले पार्टीले टिकट दिएमा आफूले चुनाव जित्ने आधारहरू बताउँदै आएका छन् ।

न्याछ्याें २०४९ सालको स्थानीय निकायको चुनावमा ललितपुर नगरपालिकाको तत्कालीन वडा नम्बर १८ (मंगलबजार) बाट उम्मेदवार हुँदा ३ भोटले पराजित भएका थिए । त्यतिबेला ललितपुरमा नेपाली कांग्रेसको संगठन अत्यन्त कमजोर रहेको र आफू जिविस सभापतिको उम्मेदवारका रूपमा रहेकाले त्यतिबेला वडाध्यक्ष उठे पनि एमालेले निर्वाचन सकिने बेला बुथमा आक्रमण गर्दा आफूले ३ भोटले चुनाव हार्नु परेको बताउँछन् ।
पछि उनी २०५१ सालमा नेपाली कांग्रेस ललितपुरको जिल्ला कार्यसमिातिमा सहसचिव मनोनीत भएका थिए भने भने २०५३ सालमा नेपाली कांग्रेस ललितपुर नगर कार्यसमितिको सभापति पनि भए । चिरिबाबुले कार्यकर्तालाई सन्तुष्ट बनाउन नसकेको दाबी गर्दै न्याछ्योले आफू ललितपुरलाई अहिलेको भन्दा राम्रो बनाउने लक्ष्यका साथ मेयरमा दाबी गरेको बताउँछन् । न्याछ्योले सभापति शेरबहादुर देउवादेखि सबै पदाधिकारी र केन्द्रीय नेतासँग भेटेर मेयरको उम्मेदवारका लागि आफ्नो दाबी रहेको बताउने गरेका छन् ।

न्याछ्यों ललितपुर जिल्लामा पूर्वमन्त्री ओमकारप्रसाद श्रेष्ठपछिको सबैभन्दा पुराना र बौद्धिक नेता पनि हुन् । स्थानीय निकाय जनप्रतिनिधिविहीन हुँदा न्याछ्यों लामो समय सर्वदलीय संयन्त्रमा रहेर भूमिका निर्वाह गरेका थिए । जसका कारण २०७४ को स्थानीय तहको निर्वाचनमा न्याछ्यों पहिलो, प्रेमकृष्ण महर्जन दोस्रो र चिरिबाबु महर्जन तेस्रो नम्बरमा मेयरको उम्मेदवारको रूपमा सिफारिस भएका थिए । त्यतिबेला पार्टीले आफूलाई अन्याय गरेकाले पनि यस पटक न्याय पाउने आशा गरेको न्याछ्योंको भनाइ छ ।

तत्कालीन जिल्ला सभापति मदनबहादुर अमात्यले पार्टीभित्रको विधि, प्रक्रिया जबर्जस्ती मिचेर एकलौटी रूपमा चिरिबाबुलाई उम्मेदवार बनाएको उनको गुनासो छ । तर १४औं महाधिवेशनपछि पार्टीभित्रको आन्तरिक समीकरण फेरिएको छ भने कांग्रेसका अधिकांश नेता र कार्यकर्ताहरू बहालवाला मेयरको व्यवहार, शैली र कार्यलाई लिएर चिढिएका छन् । तै पनि चिरिबाबुले सभापति पत्नी डा. आरजु राणालाई मनाएर फेरि पनि मेयरको टिकट लिने दाउमा लागेको बुझिएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार  १२ : ५४ बजे