२७ पुस २०८१, शनिबार | Sat Jan 11 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


दरबार हाइस्कूलमा रोवोटिक्स प्रयोगशाला उद्घाटन



१७ चैत ०७८, काठमाडौं । काठमाडौँ ।दरबार हाई स्कूरमा रोवोटिक्स प्रयोगशाला र अन्तरक्रियात्मक शिक्षण बोर्डको उद्घाटन गरिएको छ । बुधबार महानगरका मेयर विद्यासुन्दर शाक्यले प्रयोगशाला तथा बोर्डको उद्घाटन गरेका हुन् । महानगरबाट प्राप्त ३८ लाख रुपैयाँ अनुदान रकममध्ये २१ लाख ८७ हजार २७५ रुपैयाँमा ६ वटा इन्टरएक्टिभ बोर्ड र १४ लाख ६ हजार ९१८ रुपैयाँमा रोवोटिक्सका सामग्रीहरु खरिद गरिएका हुन् । यी सामग्रीहरुको प्रयोग गरेर विद्यार्थीहरुले स्मार्टको नमूनासहित विभिन्न उपकरण बनाएका छन् । यसै गरी कक्षा सञ्चालन गर्दा शिक्षकहरुले इन्टरएक्टिभ बोर्ड सञ्चालन गर्न थालेका छन । शिक्षकको निर्देशनमा विद्यार्थीहरु पनि बोर्डको प्रयोग गर्छन् ।

उद्घाटनपछि बोल्दै मेयर शाक्यले, आधा दर्जन बढी चुनौतीको सामना गरेर विद्यालय पुननिर्माण गरिएको अवस्था सुनाउँदै, विद्यालयले कस्तो परिणाम ल्याउँछ त्यसमा चिन्ता भएको उल्लेख गरे । २०७२ सालको भूकम्पले भत्किएको विद्यालय पुननिर्माण गर्दा हामीले साविकको २ तलाबाट ४ तला बनाएको र २ तला भएको पुरानो भवनजस्तै २ तलाकै बनाउनुपर्छ भन्ने आवाज बलियो उनले बताए । यसमा हामीले समयअनुसारु स्तर बढाउनु पर्छ भनेर ४ तला बनाउने निर्णयमा अडिग रहेको’ मेयर शाक्यको भनाई छ । विद्यालय पुननिर्माण गर्दा चाहिने निर्माण सामग्री र मजदुर बस्नका लागि खुल्ला मञ्चको प्रयोग गर्दा पनि आफूले निकै आलोचना खेप्नु परेको अनुभव उनले सुनाए ‘हामीले लिएको नीतिमा अटल रहेर सम्पन्न पूर्वाधार तयार पारेका छौँ । यसमा विद्यालय सञ्चालन गर्न अर्को टीम निर्माण गर्न सुझाव आएको थियो तर हामीले साविक जनशक्तिबाट गुणस्तर आउँछ भन्ने विश्वाशमा वडा समितिको आग्रहमा निरन्तरता दिएका छौँ । लगानी हामी गर्छौँ, परिणाम ल्याएर देखाउनोस् ।’ उनले भने ।

सामुदायिक विद्यालयको स्तर बढाउन काठमाडौँ महानगरले विभिन्न कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रममा शिक्षा विभागका प्रमुख रामप्रसाद सुवेदीले, २५ वटा सामुदायिक विद्यालयमा विज्ञान, प्रविधि, इन्जिनियरिङ, मानविकी र गणित शिक्षाको प्रवद्र्धनका लागि आविष्कार क्लव (स्टीम क्लब) कार्यक्रम सञ्चालन गरिएको, नमूना विद्यालयका लागि लगानी बढाइएको जानकारी दिए । रोवोटिक्स कक्षा र इन्टरएक्टिभ बोर्डको प्रयोग भने दरबार हाइस्कूलमा मात्र गरिएको सुवेदीको भनाइ थियो ।

यस अघि इञ्जिनियरिङ् अध्ययनका लागि भर्ना हुने विद्यार्थी प्रयोग गर्न पाउने सामग्री तथा उपकरण हाम्रा विद्यालय उमेरका बालबालिकाले प्रयोग गर्ने भएका छन् । कार्यक्रममा बोल्दै विद्यालयकी प्रधानाध्यापक शारदाकुमारी पौडेलले, महानगरको सहयोगबाट प्राविधिक विषय अध्यापन गराउन पाएको बताए । ‘अब हामी शिक्षालाई श्रमसँग, श्रमलाई उत्पादनसँग र उत्पादनलाई समृद्धिसँग जोड्ने जनशक्ति उत्पादन गर्छौँ ।’ पौडेलको भनाइ थियो ।

वि. सं. १९१० असोज २७ गते दरबार हाई स्कूल स्थापना भएको हो । यसलाई १९३२ मा माध्यमिक तहमा स्तरउन्नति गरिएको थियो । १९४२ सालमा वीर शम्शेरले जनताका लागि पनि खुल्ला गरेका थिए । उनकै पाला (१९४८) मा विद्यालयको स्थायी संरचना बनाइएको हो ।

२०७२ सालको भूकम्पको कम्पनले जीर्ण बनेको दरबार हाइस्कूल पुननिर्माणको काम भुकम्पीय विपत्तिपछि चीन सरकारको सहयोगमा भएको हो । ९ रोपनी जग्गाको ४ हजार २०० स्क्वायर मिटर क्षेत्रमा निर्माण भएको विद्यालयको पुननिर्माण लागत ८५ करोड रुपैयाँ हो । चार तले विद्यालय भवनमा ४५ वटा कोठा छन् । भवनको डिजाइन चीनको चाइना एभिएसन प्लानिङ् एण्ड डिजाइनिङ् इन्टिच्युटले गरेको हो ।
२० महिना पुननिर्माण अवधि लक्ष्य राखेर २०७५ साउन १८ गते एक औपचारिक कार्यक्रमकाबीच पुननिर्माणको काम थालिएको थियो । २०७७ कार्तिक ५ गते पुननिर्माण प्राधिकरणले काठमाडौँ महानगरपालिकालाई विद्यालय हस्तान्तरण गरेको हो ।

 

 

 

 

 

 

 

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलबार  ७ : २० बजे