३ माघ २०८१, बिहिबार | Thu Jan 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंमा कल सेन्टर गरेर अमेरिकामा ठगी



५ असार ०७९, काठमाडौं ।  काठमाडौंमा कल सेन्टर सञ्चालन गरेर अमेरिकामा ठगी गरेको आरोपमा प्रहरीले १३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ‘अर्बिट नेक्सस प्रालि’का संचालक बुढानिलकण्ठ नगरपालिका–१२ कपन बस्ने ३३ वर्षीय बिजय श्रेष्ठ, कलसेन्टर सुपरभाइजर भारत घर भएका ३२ वर्षीय निशान्त गैरे र कल सेन्टरमा काम गर्नेहरुलाई मनिटरिङ गर्ने भारतीय नागरिक २४ वर्षका मनिष तिवारी छन् । दुईजना भारतीय नागरिक बिजय श्रेष्ठका मुख्य सहयोगी हुन् ।

पक्राउ पर्नेमा कल सेन्टरमा काम गर्ने २२ वर्षका अमिन खड्का, २२ वर्षीय करण गुरुङ, अनोज लामा, २० वर्षीया आरुषी राई, २१ वर्षीया युबिना तामाङ, २३ वर्षीया आरस तुलाधार, २६ वर्षीया सपना मग्राती, २९ वर्षीया टिका राउत, २४ वर्षीया सुनिता राउत र १९ वर्षीय सागर श्रेष्ठलाई पक्राउ गरिएको नेपाल प्रहरीको साइबर ब्यूरोका एसएसपी नविन्द अर्यालले जानकारी दिए ।

उनीहरुले अर्बिट नेक्सस प्रालि नाममा कल सेन्टर सञ्चालन गरी अमेरिकामा बस्नेहरुलाई कम्प्युटरमा म्यासेज पठाएर ठगी गर्ने गरेका थिए । उनीहरुले माइक्रोसफ्ट सपोर्ट सेन्टरबाट भन्दै कम्प्युटरमा म्यासेज पठाएर बैंक खाता लगायतका निजी सूचना माग गरेर पैसा ठगी गरेको पाइएको एसएसपी अर्यालले जानकारी दिए ।

उनीहरुबाट ९० वटा कारोबार भएको देखिएको र ती सबै ठगी हो वा होइन भन्ने विषयमा अनुसन्धान भइरहेको एसएसपी अर्यालले जानकारी दिए । आरोपीहरुले माईक्रोसफ्ट कम्पनीको कल सेन्टरको नाममा कम्प्यूटर र ल्यापटप जस्ता विद्युतीय सामग्रीमा सूचना पठाएर फिसिङ गर्थे । युजरको डिटेल लिएपछि ह्याक गरेर बैंक खाताको रकम ट्रान्सफर गर्ने गरेका थिए ।

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  ९ : २९ बजे