६ माघ २०८१, आइतबार | Sun Jan 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


पूर्ण क्षमतामा फोहोर व्यवस्थापनको प्रयास : व्यवस्थापनमा नयाँ अवरोध



२९ साउन ०७९,काठमाडौं ।  काठमाडौँ महानगरपालिकाले पूर्ण क्षमतामा फोहोर व्यवस्थापनको काम गरिरहेको छ । हिजो (साउन २८ गते) फोहोर बोकेर १५२ वटा गाडीहरु बञ्चरे डाँडा ल्याण्डफिल साइडमा पुगेका थिए । आजदेखि संख्या बढाएर दैनिक २५० देखि ३५० वटासम्म फोहोर बोकेका गाडी बञ्चरे पु¥याउने योजना बनाइएको थियो । योजनाअनुसार काम गर्न विहानै अवरोध आइलाग्यो ।

तारेकश्वर नगरपालिका वडा नं. ३ का अध्यक्ष पर्शुराम अर्यालकाअनुसार गए राती अज्ञात समूहले तीनपिप्ले आठमाइल नजिक ढकाल खोलामा करिब ३ ट्रक फोहोर फाले । पानीको मुहानमा फोहोर फालिएको जनाउँदै स्थानीयले विहान सडक अवरुद्ध गरेका थिए । वडाध्यक्ष अर्याल भन्नुहुन्छ, ‘प्रहरीसँग समन्वय गरेर दोषी पत्ता लगाउने भनेर स्थानीयलाई सम्झाएपछि आजको अवरोध खुलेको छ ।’

महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) भन्नुहुन्छ, ‘फोहोर व्यवस्थापनमा उत्पादकदेखि व्यवस्थापनको चक्रमा काम गर्ने सबैको सहयोग आवश्यक छ । काठमाडौँबाट ७५ गाडी र त्यति नै मात्रामा अरु पालिकाहरुबाट दैनिक फोहोर उत्सर्जन हुने भएकाले हरेक दिन १५० गाडी फोहोरको व्यवस्थापन हुनु पर्छ । विगतका अवरोधले संकलित फोहोरलाई नियमित अवस्थामा पु¥याउन केही समय लाग्नेछ ।’

विविध प्रतिकुलताका बाबजुद फोहोर व्यवस्थापनमा खटिनेहरुको प्रशंशा गर्दै प्रमुख शाहले, अवरोध नगर्ने स्थानीय, फोहोर संकलन तथा लैजान सफाइ कर्मचारी र चालकहरु, अवरोध खुलाउन क्रियाशील सुरक्षाकर्र्मीसहित सम्बद्ध सबैलाई धन्यवाद दिनुभएको छ ।

‘हामी यो पनि विश्वास दिलाउन चाहन्छौँ कि सिसडोलको दुरावस्था बञ्चरेमा दोहो¥याउने छैनौँ । थुप्रिएको फोहोर व्यवस्थापन नभइ अन्य विकल्पहरुमा जानु व्यवहारिक रुपमा कठिनाइ भएकाले मात्रै बाध्य भएर अहिलेको व्यवस्थापनको तरिका अपनाइ रहेका हौँ ।’ प्रमुख शाह भन्नुहुन्छ, ‘फोहोरको दीर्घकालीन व्यवस्थापनका लागि योजनाहरु छन् । तिनको कार्यान्वयनका लागि हदैसम्म प्रयास गरिनेछ । हाम्रो अन्तिम लक्ष्य फोहोरको त्यस्तो व्यवस्थापन हो, जहाँ कोही पनि फोहोरबाट आक्रान्त हुनु पर्दैन, कसैले गुमाउनु पर्दैन र सबैको साझा जीत हुनेछ ।’

महानगरको वातावरण तथा कृषि विभागका प्रमुख सरिता राईकाअनुसार हिजो साइडमा पुगेका ४५ वटा गाडीले आज बिहान फोहोर खन्याएका छन् । साइटमा फोहोर सम्याउन, थिच्न तथा माटोले पुर्न २ वटा डोजर प्रयोगमा छन् । जसमध्ये एउटा महानगरको हो भने अर्को भाडामा लिएर सञ्चालन गरिएको हो । महानगरका २ वटामध्ये एउटाको मर्मत भइरहेको छ ।’ फोहोर व्यवस्थापन चक्रका बारेमा राई भन्नुहुन्छ, ‘साइटमा फोहोर खन्याएर मात्र हुँदेन । त्यसलाई सम्याउनु पर्छ । थिच्नु पर्छ । ग्याँस निष्कासन हुने भेन मिलाउनु पर्छ । माटोले छोप्नु पर्छ । साइट व्यवस्थापनका लागि डोजरको क्षमता र जनशक्तिको क्षमता मिलाउनु पर्छ ।’ उहाँकाअनुसार सडक अवरुद्ध गर्ने खालको अवरोध त छँदैछ । त्यसमा खाल्टाखुल्टी र पहिरो तथा संख्यात्मक रुपमा धेरै गाडीहरु दोहोरो रुपमा चलाउन कठिन छ । यी समस्या महानगरपालिकाको एक्लो समस्या वा एक्लैले समाधान गर्न सकिने खालको होइन ।

ढकाल खोलामा फोहोर १ जना पक्राउ

ढकाल खोलामा फोहोर फाल्नेमध्ये एकजना पक्राउ परेका छन् । नगर प्रहरी नायब उपरीक्षक पूर्णचन्द्र भट्टकाअनुसार, फोहोरमा प्रमाण खोजेर फोहोर उत्पादन भएको ठाउँ पत्ता लागेको थियो । ‘त्यस ठाउँबाट कसकसले फोहोर संकलन गर्छन्, खोजेर चालक पक्राउ गरिएको हो ।’ प्रहरी नायव उपरीक्षक भट्ट भन्नुहुन्छ, ‘बालुवा बोक्ने ट्रिपरले फोहोर बोकेर गएको भेटियो । शंकास्पद चालकलाई सोधखोज गर्दा बेलुका ६ बजे ल्याण्डफिल साइडमा फोहोर फालेको बताए । हामीले हिजो अपरान्ह साढे ४ बजे साइड बन्द गरेका थियौँ । यसरी अनुमान गरेर उत्तर दिन थालेपछि हामीले सोधेका अरु प्रश्नमा चालकले फोहोर फालेको स्वीकार गरेको हुन् ।’ उनले फोहोर फाल्न प्र. ३ —००३—१२४६ नं. को गाडी प्रयोग गरेका थिए ।

प्रमाण खोजेर हामी फोहोर फाल्ने अन्यलाई पनि खोजी गरिरहेका छौँ । भट्टको भनाइ छ ।

आलेटारको सुरक्षा क्याम्प बञ्चरेमा 

आलेटारमा रहेको शसस्त्र प्रहरी बेस क्याम्प साउन २८ गतेदेखि बञ्चरे डाँडामा सारिएको छ । साउन २३ गते राती फोहोर व्यवस्थापनमा प्रयोग हुने साधन तथा उपकरणमा तोडफोड भएपछि सुरक्षा पोष्ट सारिएको हो ।

प्रकाशित मिति : २९ श्रावण २०७९, आइतबार  ३ : ३४ बजे