२७ मंसिर २०८२, शुक्रबार | Fri Dec 12 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


हनुमानढोकामा ल्याइयो इन्द्रजात्राको लिङ्गो



बत्तीस हाते लिङ्गो हनुमानढोका लगिँदै
इन्द्रजात्राको दिन हनुमानढोकामा परिसरमा ठड््याउन भक्तपुरको चित्तापोलबाट ल्याइएको ३२ हातको लिङ्गो आइतबार बिहानको शुभसाईटमा तानेर हनुमानढोका परिसर लगिँदै । काठमाडौँका राजा जयप्रकाश मल्लको पालादेखि लिङ्गो ठड्याउने प्रचलन रहेको मानिन्छ । लेन्स : रत्न श्रेष्ठ/रासस

१९ साउन ०७९, काठमाडौं । यस वर्षको इन्द्रजात्राको लिङ्गो हनुमानढोका ल्याइएको गुठी संस्थान काठमाडौँ कार्यालयले जनाएको छ ।
इन्द्रजात्राका लागि काभ्रेपलाञ्चोक जिल्लाको उग्रचण्डी नालाको जङ्गलबाट नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइतमा रुख काटी विधिअनुसार राजधानी ल्याउने गरिन्छ । राजधानी ल्याएर भाद्र शुक्ल अष्टमीका दिन लिङ्गोलाई हनुमानढोका भित्र्याउने परम्परा छ । लिङ्गो काटेर ल्याउने काममा मानन्धर समूहको सक्रियता रहने विधि पहिलेदेखि बसेको संस्थान काठमाडौँ शाखाका प्रमुख आनन्द कर्माचार्यले राससलाई जानकारी दिएका छन् ।
भाद्र शुक्ल द्वादशीका दिन इन्द्रध्वजोत्थान गर्ने परम्परा छ । यस दिनदेखि आठ दिनसम्म राजधानीमा विभिन्न कार्यक्रम गरी इन्द्रजात्रा पर्व मनाइन्छ । भाद्र शुक्ल चतुर्दशीका दिन कुमारी यात्रा शुरु हुन्छ । यो इन्द्रजात्राको मुख्य दिन हो । यस दिन उपत्यकामा सार्वजनिक बिदासमेत दिइने परम्परा छ ।
पहिलो दिन कुमारीलाई तल्लो टोल यात्रा गराउने परम्परा छ । भाद्र शुक्ल पूर्णिमाका दन कुमारीलाई माथिल्लो टोल यात्रा गराइन्छ । यसपछिका दिनमा क्रमशः विभिन्न टोलमा यात्रा गराई नानीचा यात्रापछि इन्द्रजात्राको रथ घुमाउने विधि पूरा हुने प्राचीन परम्परा छ ।
आश्विन कृष्ण चौथीका दिन इन्द्रध्वजपातन अर्थात् इन्द्रजात्राको लिङ्गो ढालिन्छ । इन्द्रजात्रासँग सम्बन्धित तलेजु, भैरव, गणेश, कुमारीलगायत देवी देवताको पूजा आराधना एवं यात्रा गराई यो जात्रा आठ दिनसम्म भव्यरूपमा मनाउने परम्परा छ । यस जात्राको मुख्य दिन हनुमानढोका दरबारमा राष्ट्रपति, उपराष्ट्रपति प्रधानमन्त्री, सभामुख, प्रधानन्यायधीश, राष्ट्रियसभाका अध्यक्षलगायत संवैधानिक निकायका प्रमुखलगायत विशिष्ट व्यक्तित्वको उपस्थिति रहने गरेको छ ।
यस वर्ष भदौ २२ गते इन्द्रध्वजोत्थान, २४ गते इन्द्रजात्राको मुख्य दिन र २९ गते इन्द्रध्वजपातन गरिने संस्थानले जनाएको छ । इन्द्रध्वजोत्थान वसन्तपुर दरबार क्षेत्रको कालभैरवअघि गरिन्छ ।

प्रकाशित मिति : १९ भाद्र २०७९, आइतबार  १० : ४९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।