१२ कार्तिक २०८१, सोमबार | Tue Oct 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरमा डेंगु : १८ सय ३२ जनामा संक्रमण, एकजनाको मृत्यु



२० भदौं ०७९, ललितपुर ।  ललितपुरमा डेंगुबाट एकजनाको मृत्यु भएको छ । सिराहा घर भई हाल ललितपुर ज्वागल बस्ने ३८ वर्षीय हिमालयकुमार साहको मेडिसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

उनी १२ भदौमा पुल्चोकमा रहेको अल्का अस्पतालमा उपचार गर्न गएका थिए । तर, अस्पतालले उनको अवस्था थप गम्भीर बनेपछि मेडिसिटीमा रिफर गरेको थियो । त्यहाँ भर्ना भएको तीन दिनपछि १५ भदौमा उनको मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएका छ ।

पछिल्लो तीन दिनमा मात्रै ललितपुरमा करिब पाँच सयजना डेंगु संक्रमित थपिएका छन् । हालसम्म ललितपुरमा एक हजार आठ सय ३२ जनामा डेंगु पुष्टि भइसकेको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । डेंगु संक्रमण भयावह बनेपछि जिल्लास्थित स्थानीय तहहरूले पनि जनचेतनाका कार्यक्रम र लामखुट्टेको वासस्थान नष्ट गर्न सुरु गरेका छन् । हाल ललितपुरको ज्वागल, बंगलामुखी क्षेत्र, थसिखेल, महालक्ष्मीस्थान, एकान्तकुनालगायत क्षेत्रमा संक्रमण तीव्र छ । त्यस्तै महालक्ष्मी नगरपालिकामा पनि डेंगु संक्रमण बढेको छ । हालसम्म त्यहाँ दुई सय १५ जनामा संक्रमण भइसकेको छ । गोदावरी नगरपालिकाभित्र पनि ५८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

स्वास्थ्य कार्यालयका प्रमुख जनस्वास्थ्य प्रशासक सतिश विष्टले संक्रमण तीव्र बनेपछि स्थानीय तहमा स्ययंसेवक र स्वास्थ्यकर्मी परिचालन गरेको जानकारी दिए । उनका अनुसार गोदावरी, महालक्ष्मी, ललितपुर महानगरपालिका, बागमती गाउँपालिकामा सोमबार डेंगुको वासस्थान नष्ट गर्ने कार्यक्रम तय गरिएको छ । उनका अनुसार ललितपुरमा यस वर्ष ९ असारदेखि डेंगु देखिएको थियो । बिस्तारै फैलने क्रम बढेपछि स्वास्थ्य कार्यालय र स्थानीय तह यसको नियन्त्रणमा लागेका छन् ।

प्रकाशित मिति : २० भाद्र २०७९, सोमबार  १० : ०५ बजे