११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


राजधानीलगायतका शहरमा मनाइयो नेपाल संवतको नयाँ वर्ष ११४३




१० कात्तिक ०७९, काठमाडौं । चान्द्रमास अनुसार प्रचलनमा रहेको मौलिक नेपाल संवतको नयाँ वर्ष ११४३ आज विभिन्न कार्यक्रम गरी विभिन्न ठाउँमा मनाइएको छ ।
राजधानीमा बिहान सूर्योदयसँगै नयाँ वर्षलाई भव्य स्वागत गरिएको थियो । नयाँ वर्षको खुसीयालीमा आज काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा शुभकामना ¥याली निकालिएको थियो । काठमाडौँ, ललितपुर, भक्तपुर, कीर्तिपुर, गोकर्णेश्वर, टोखा, साँखु, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्य रहेका स्थानमा मौलिक वेषभूषासहित सांस्कृतिक झाँकीयुक्त शुभकामना ¥याली निकालिएको थियो ।
यस संवतलाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाःले विसं ९३७ (इसं ८८०) मा गरिब जनताको ऋणमोचन गरी नेपाल संवत्को सुरुआत गराएका थिए । नेपाल संवतले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवतको मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा त्रिरत्न मानन्धरले जानकारी दिए ।
लिच्छविकालका राजा राघवदेवको शासनकालदेखि नेपाल संवत् सुरु भएको थियो । पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवतका रूपमा नेपाल संवत् चलेको थियो । लिच्छविकालअघि शक संवत् प्रचलनमा थियो ।

विसं २००७ मा प्रजातन्त्रको स्थापना भएपछि देखि नै नेपाल संवतलाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ । नेपाल संवतलाई नयाँ वर्षका रूपमा काठमाडौँ, ललितपुर, भक्तपुर, कीर्तिपुर, गोकर्णेश्वर, टोखा, साँखु, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्य रहेका स्थानमा विशेषरूपमा मनाउने गरिन्छ ।
गरिब जनताको ऋणमोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवत्समेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै विसं २०५६ को नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वाःलाई राष्ट्रिय विभूति घोषणा गरेका थिए ।
विसं २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल संवत्ले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका थिए । कार्तिक कृष्ण औँसीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात् कार्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको सुरुआत गर्ने परम्परासमेत काठमाडौँमा अझै छ ।

प्रकाशित मिति : १० कार्तिक २०७९, बिहिबार  ६ : ३२ बजे