११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरमा नमूना मतदान




१९ कात्तिक ०७९,ललितपुर । जिल्ला निर्वाचन कार्यालय ललितपुरले पुल्चोकमा गरेको नमूना मतदान कार्यक्रम सम्पन्न भएको छ । ललितपुर महानगरपालिका वडा नं ३ मदनस्मारक माविमा भएको नमूना मतदानमा ४८ पुरुष र ७४ महिला गरी १ सय २२ जना सहभागीले मतदान गरेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख गोमा धमला घिमिरेले जानकारी दिइन् ।
प्रमुख धमलाले मतदान गर्ने तरिकाबारे जानकारी दिन नमूना मतदान कार्यक्रम सञ्चालन गरिएको बताइन्। ललितपुरका ६ वटै स्थानीय तहमा नमूना मतदान कार्यक्रम गर्ने प्रमुख धमलाले जानकारी दिएकी छिन् ।
आगामी मङ्सिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनलाई मध्यनजर गर्दै निर्वाचन कार्यालयले सबै स्थानीय तहमा नमूना मतदान कार्यक्रम सञ्चालन गर्न लागेको हो ।
ललितपुर महानगरपालिकाबाट सुरु भएको यो कार्यक्रम कात्तिक २० गते गोदावरी नगरपालिकाको वडा नं. ११ मा हुने छ । जिल्लाका अन्य चार स्थानीय तहमा भने कात्तिक २७ गते पछाडि मात्रै सञ्चालन हुने धमलाले बताइन् । नमूना मतदानमार्फत मतदानका विषयमा आवश्यक जानकारी दिन लागिएको प्रमुख धमलाको भनाइ छ ।
नमूना मतदानले बदर मतको सङ्ख्या घटाउनका लागि सहयोग पुग्ने विश्वास गरिएको छ । आसन्न निर्वाचनमा एक मतदाताले प्रत्यक्ष र समानुपातिक गरेर चार मतपत्रमा मतदान गर्नुपर्नेछ ।

निर्वाचनमा बदर मतको सङ्ख्या घटाउन मतदाता शिक्षा सञ्चालनको पनि तयारी भएको छ । समुदाय स्तरमै मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुने जनाइएको छ । जिल्लामा दुई लाख ५० हजार चार सय १० मतदाता रहेका छन् । –––

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार  ७ : ३२ बजे