१५ पुस २०८२, मंगलबार | Tue Dec 30 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


मेरो जीवनको बाँकी समय राष्ट्रको लागि हुनेछ: महेश बस्नेत



२८ कात्तिक ०७९, थिमी । नेकपा (एमाले)को पोलिटब्युरो सदस्य, पूर्वमन्त्री तथा भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधिसभाका उम्मेदवार महेश बस्नेतले आफ्नो बाँकी सम्पूर्ण जीवन राष्ट्रको लागि हुने घोषणा गरेका छन्। सोमबार मध्यपुर थिमी नगरपालिका वडा नं. ३ कौशलटारमा क्षेत्र नं. २ ’ख’ प्रदेश स्तरीय आमसभालाई सम्बोधन गर्दै नेता बस्नेतले अब आफ्नो सम्पूर्ण ध्यान भक्तपुर र राष्ट्रको विकास र समृद्धिको लागि हुने बताएका हुन्।

आफू र २ नं. क्षेत्रका एमालेको उम्मेदवारको लोभ भनेको नै विकास र समृद्धिको साथमा जनताको चाहना पूरा गर्नु रहेको उल्लेख गर्दै उनले बाँकी जीवन राष्ट्र, राष्ट्रियता र राष्ट्रिय स्वाधिनताको पक्षमा रही देश विकासमा लाग्ने घोषणा गरे। आफूले कुनै पनि कुराको नेतृत्व गर्दा आर्थिक लोभमा कहिले पनि नपरेको उल्लेख गर्दै अबका दिनमा अझ बढी सक्रियताका साथ नेपाललाई विकसित राष्ट्र बनाउन लाग्ने बताए।
उनले भने, ’मेरो त घरमा बा आमाले कहिले काहीँ खाना नखाइ पुग्यो र खाना छ कि छैन भनेर सोध्यो भने पनि खबर नै गरिनस् भन्नुहुन्छ। परिवारले समेत महेश बस्नेत राष्ट्रको छोरो, दाइ, भाइ भइसक्यो भन्ने बुझ्नुभएको छ। त्यसैले अब मेरो जीवनको बाँकी समय राष्ट्रको लागि हुनेछ। राष्ट्रको हितको लागि काम गर्दा कुनै प्रकारको लोभ लालच तथा आर्थिक अनियमितता, भ्रष्टाचार म बाट हुने छैन। म भ्रष्टाचार गर्दिन र गर्न दिन्न भन्ने हाम्रो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले गर्नुभएको प्रतिबद्धतालाई शतप्रतिशत पूरा गर्नेछु।’

जनताको मागलाई शतप्रतिशत पूरा गर्ने प्रतिबद्धता जनाउँदै नेता बस्नेतले भक्तपुरको विकासको ब्राण्डेड पार्टी भनेको नै एमाले मात्र भएको दाबी गरे। गठबन्धनका दलहरुले विकास र समृद्धिको बारेमा जानकार समेत नरहेको उल्लेख गर्दै उनले गठबन्धन सरकार बनेको १८ महिनामा भक्तपुरमा कति बजेट आयो? भनि प्रश्न गरे।

जनताले टर्च बालेर भक्तपुरमा गठबन्धन दल तथा नेताहरु छन् कि छैनन् भनि जनताले खोजिरहेको उल्लेख गर्दै उनले एमाले जनताको सल्लाह बमोजिम चल्ने पार्टी भएकाले जनताको सुझावको आधारमा नै एमालेका उम्मेदवारको प्रतिबद्धता हुने बताए। भक्तपुरमा बेसिक लेभलको भौतिक पूर्वाधारको क्षेत्रमा विकास गरेको उल्लेख गर्दै उहाँले आगामी दिनमा एड्भान्स लेभलको विकास गर्ने प्रतिवद्धता जनाए।

भक्तपुरमा खानेपानी, सडक, ढल, स्वास्थ्य, शिक्षा, पर्यटन, धर्म, संस्कृति, परम्परा, कला लगायतका क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गरेको दावी गर्दै उहाँले आगामी दिनमा जनताको माग, चाहना र आवश्यकतालाई ध्यान दिँदै भक्तपुरको विकासलाई आधुनिकतामा रुपान्तरण गर्ने बताए। भक्तपुरको विकासमा एमालेले बोलेको कुरा पुरा गर्नेमात्र नभई बोनस समेत दिने पार्टी भएको उल्लेख गर्दै भक्तपुरमा कांग्रेसले १५ वर्ष नेतृत्व गर्दा गरेको पाँच वटा कामको लिस्ट दिन चुनौती समेत दिए।

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार  १ : २० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।