३० कात्तिक ०७९,काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १० (क) का राप्रपाका प्रदेशसभाका उम्मेदवार उमेशराज सापकोटाले चुनाव जितेमा आफुले तलव भत्ता नलिने घोषणा गरेका छन् । उनले यो प्रतिबद्धता आफ्नो प्रतिबद्धता पत्रमा समेत उल्लेख गरेका छन् ।
चुनावी अभियानकै क्रममा सापकोटाले आफुले प्रदेशसभा उम्मेदारी जितेपछि पाउने सबै तलब भत्ता नलिने प्रतिबद्धता गरेका हुन् । उनले आफुलाई कुनै किसिमको पैसाको मोह समेत नरहेको बताए ।
उनले भने, ‘मैले यहाँबाट जितेर गए भने प्रदेश सभा खारेज गर्नुपर्छ भनेर मैले माग राखेको हुनाले, यो सेतो हात्ति राख्नु हुँदैन भनेर आफैले माग राखेको हुनाले म त्यो कुर्चीमा बसुन्जेल जति तलब भत्ता पाउँछु हरेक महिना सामाजिक काममा खर्च गर्छु । एक रुपैयाँ पनि लिदिन लेखेर राख्नुस् । म त्यो पैसा कुनै महिना कुनै स्कुललाई दिन्छु । कुनै महिना कुनै वृद्धाश्रमलाई दिन्छु । कुनै महिना सरकारी स्कुललाई दिन्छु । कुनै महिना गरिबहरुलाई सहयोगगर्नेछु ।’
अहिले मतदाता सचेत भएको भन्दै उनले व्यक्ति राम्रो खोजिरहेको बताए । आफु लामो समयदेखि यहि क्षेत्रमा राजनीति गरेको र यहाँका जनताको आशाको केन्द्र भएकाले पनि मतादाताहरु उत्साहित भएको उनले बताए । विगतमा यहाँ विभिन्न राजनीतिक दलले जिते तर यहाँका जनताले चाहेको जस्तो विकास गर्न सकेनन् । त्यसैले पनि यहाँको विकासलाई नयाँ आयम दिनका लागि आफुले उम्मेदवारी दिएको सापकोटाले बताए ।
शिक्षा, स्वाथ्य, खानेपानी लगायत जनताको दैनिकी सहज बनाउने नै आफ्नो पहिलो प्राथमिकता रहेको सापकोटाले बताए । यहाँ उत्पादन हुने लव्सी, नास्पाती नेपालभरि प्रख्यात रहेको भन्दै त्यसलाई प्रशोधन गरेर नेपालसहित विदेशमा समेत निर्यात गरिने सापकोटाले बताए ।
यस क्षेत्रको पर्यटन, कला, संस्कृति, भाषा, जात्राको संरक्षण र सम्वद्र्धनका लागि पनि आफुलाई जिताउन उनले आग्रह गरेका छन् । यहाँको शिक्षा, स्वास्थ्य, यातायात र रोजगारी सिर्जनका लागि आफु दत्तचित्त भएर लाग्ने सापकोटाले प्रतिवद्धता जनाए ।
प्रतिक्रिया