१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुर ग्वार्कोमा बन्ने ‘फ्लाई ओभर’ नेपालकै पहिलो



१९ मंसिर ०७९, ललितपुर।  ललितपुरस्थित ग्वार्काे चोकमा नेपालकै पहिलो ‘फ्लाई ओभर’ (ओभर पास) निर्माण हुने भएको छ । आगामी शुक्रबार (२३ मंसिर)बाट उक्ते ओभर पासको निर्माण सुरु हुने भएको छ । आयोजनाको ठेक्काप्राप्त आरसी, समानान्तर र रेलिग्रेले शुक्रबारदेखि निर्माण सुरु गर्न लागेका हुन् ।

सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले शुक्रबारदेखि ग्वार्काे फ्लाई ओभरको निर्माण सुरु हुने बताए । त्यसका लागि आवश्यक तयारी पूरा भएको उनको भनाइ छ । विभागले ट्राफिक व्यवस्थापन सहज बनाउने उद्देश्यसहित चक्रपथको ग्वार्काे, एकान्तकुना र सातदोबाटो चोकमा फ्लाई ओभर बनाउने योजना अघि बढाएको थियो । त्यसमा पहिलो चरणअन्तर्गत ग्वार्काे चोकको फ्लाई ओभर निर्माण गर्न लागिएको हो । नेपालको सडक सञ्जालनमा बन्न लागेको यो पहिलो फ्लाई ओभर पुल हो ।

यद्यपि, नागढुंगा सुरुङमार्गमा पनि एक फ्लाई ओभर निर्माण हुनेछ । तर, त्यसको अझै निर्माण सुरु भएको छैन । हाल त्यसको डिजाइन बनाउने काम भइरहेको छ । सडक विभागको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका निर्देशक नवीनमान श्रेष्ठले नेपालका लागि यो नै पहिलो फ्लाई ओभर हुने बताए ।

विभागले इपिसी (इन्जिनियरिङ प्रोक्युरमेन्ट एन्ड कन्स्ट्रक्सन) मोडलमा उक्त आयोजना बनाउने गरी साउन ०७८ टेन्डर आह्वान गरेको थियो । त्यसपछि माघ ०७८ मा आरसी, समानान्तर र रेलिग्रे जेभी त्यसमा छनोट भएका थिए । त्यसलगत्तै ठेक्का सम्झौता गरेर निर्माण कम्पनीहरूले फागुन ०७८ देखि आयोजनाको डिजाइन बनाउन सुरु गरेका थिए । यस आयोजनाको डिजाइन गत साता मात्रै सडक विभागबाट स्वीकृति भएको थियो ।
यस फ्लाई ओभरको कुल लम्बाइ चार सय ९० मिटर हुनेछ । त्यसमा बालकुमारीतर्फबाट दुई सय ८० मिटर लामो ¥याम र सातोबाटोतर्फबाट एक सय ७५ मिटर लम्बाइको ¥याम बनाइनेछ । बीचको सुपर स्ट्रक्चरको लम्बाइ भने ३५ मिटर लामो हुनेछ । फ्लाई ओभरको उचाइ ६ मिटरको हुनेछ । अन्तर्राष्ट्रिय मापदण्डअनुसार फ्लाई ओभरको उचाइ ६ मिटर राखिएको हो ।

चक्रपथको यो खण्ड हाल आठ लेनको छ । त्यसमा बीचको चार लेनको सडकलाई फ्लाई ओभरमार्फत माथि उठाइनेछ, जसमा चक्रपथमै आवतजावत गर्ने सवारीसाधन चल्नेछन् । मंगल बजार–इमाडोल–मंगलबार आवतजावत गर्ने सवारीसाधन भने फ्लाई ओभरमुनिबाट जानुपर्नेछ ।

फ्लाई ओभर नेपाल सरकारकै लगानीमा बन्नेछ । त्यसमा १७ करोड ६८ लाख रुपैयाँ लगानी गरिएको विभागको भनाइ छ । निर्माण कम्पनीसँग सोहीअनुसार नै ठेक्का सम्झौता भएको विभागको भनाइ छ ।

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार  १ : ३७ बजे