१ पुस ०७९, काठमाडौं । काठमाडौंको बालाजुस्थित एक टहरोमा बस्दै आएकी ९० वर्षीया वृद्धाको हत्यामा संलग्न आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तारकेश्वर नगरपालिका–६ का ३९ वर्षीय नरेन्द्र शिवभक्ती छन् । उनी मृतक वृद्धा महिलाका छिमेकी हुन् ।
तार्केश्वर नगरपालिका–६ बस्ने डिल्ली पतुवार मंसिर २२ गते वडा नम्बर–३ मा पर्ने जंगलमा मृत अवस्थामा फेला परेकी थिइन् । उनको टाउकोमा गम्भीर चोट देखिएको थियो । पोस्टमार्टम रिपोर्टमा उनको टाउकोमा हिर्काएको खुलेको थियो । हत्याको रहस्य नखुले पछि उपत्यका अपराध अनुसन्धान कार्यालयका डीएसपी गोविन्द पन्थी नेतृत्वको टोली खटिएको थियो ।
मृतक डिल्लीका चार छोरी र एक छोरा भए पनि उनी एक्लै आफ्नै जग्गामा भएको टहरोमा बस्दै आएकी थिइन् । उनका श्रीमानको मृत्यु भइसकेको थियो ।
उनी सधैँजसो छोरीका घरमा खाना खान जाने गरेको र २० गते नगए पछि बालाजु प्रहरीमा हराएको उजुरी परेको थियो । उनी मंसिर २२ गते मृतावस्थामा फेला परेकी थिइन् ।
उनको नाममा करोडभन्दा बढी पर्ने जमिन रहेकाले सोही कारण हत्या गरिएको हुनसक्ने र घटनामा नजिकैका आफन्तको संलग्नता हुनसक्ने प्रहरीको अनुमान थियो ।
प्रतिक्रिया