१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


पाँचखालमा पुरातात्विक क्षेत्र खोज्न पुनः‘जियोफिजिकल सर्भे’ गरिने



काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका ९ साठीघरमा सडक खन्ने क्रममा दुई दिनअघि भेटिएको समुन्द्र देवताको मूर्ति नियाल्दै स्थानीय । २० इन्च उचाइ अग्लोको उक्त मूर्ति करिव चारदेखि ५०० बर्ष पूरानो हुनसक्ने बताइएको छ । यसअघि, चैत पहिलो साता पाँचखाल नगरपालिका–१ अनैकोट कोटयाङस्थित ठूलीचौरमा स्थानीय युवाले माटो खन्ने क्रममा दुई फिट अग्लो बागेश्वर मञ्जू७नतसीको मूति फेलापरेको थियो । तस्वीर ः राजकुमार पराजुली/रासस

५ पुुस ०७९, काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिका ७ स्थित पुरातत्वस्थलमा पुनः ‘जियोफिजिकल सर्भे’ (भू–भौतिकी सर्वेक्षण) गरिने भएको छ । विसं २०७७ चैतमा पुरातत्व विभागले बेलायती विज्ञ समूहद्वारा गरिएको सर्भेको प्रतिवेदनअनुसार पुरातात्विक सम्पदाको प्रचूर सम्भावना देखिएकाले पुनःसर्भे गर्न लागिएको हो ।
विज्ञ समूहको सर्भे प्रतिवेदन एक वर्षअघि विभागमा आइपुगेको थियो । बेलायतको विज्ञ टोलीसहित विभागका पुरातत्वविद्ले काभ्रेपलाञ्चोकको पाँचखाल नगरका विभिन्न स्थानमा गरेको सर्वेमा ऐतिहासिक पुरातत्व सम्पदाको प्रचूर सम्भावना देखिएपछि पुनःसर्भे गर्न थालिएको विभागका प्रवक्ता रामबहादुर कुँवरले बताएका छन् ।
उनका अनुसार योजना बनाइ विभागका प्राविधिक एवं पुरातत्व अधिकृतद्वारा चालु आर्थिक वर्षभित्र पुनःसर्भे गरिनेछ ।
पुनःसर्भे गरेपछि उक्त स्थानको सम्पदाबारे आएको थप विवरणपछि गर्नुपर्ने कार्ययोजनासहित पाँचखाल नगर कार्यालयलाई बुझाइने कुँवरले बताए । उनका अनुसार स्थानीय तहले नै आफ्ना क्षेत्रका ऐतिहासिक सम्पदा संरक्षण एवं जीर्णोद्धार गर्नु पर्नेछ ।
बेलायतस्थित दूरहाम विश्वविद्यालयका विज्ञ टोलीले पाँचखाल ७ स्थित सिमालीघारी, वासुकी स्थान, माल्टार, कञ्केश्वर महादेव मन्दिर तथा स्वास्थ्यचौकी आसपासलगायत क्षेत्र तथा ६ नंवर वडाको भमरकोटसहित विभिन्न स्थानमा सर्भे गरेको थियो । विभागले डाटा एनालाइसिस् गर्दा नै सर्वे गरिएको स्थानमा ऐतिहासिक सम्पदाको प्रचूर सम्भावना देखिएको तथा बेलायतबाट आएको सर्भे प्रतिवेदनले पनि एकैखालको सम्भावना देखाएको हो ।


कुँवरले पहिलो चरणमा जमिनमुनि केकस्तो भौतिक संरचना छ भन्ने पत्ता लगाउन काभ्रेपलाञ्चोकको पाँचखालसहित नेपालको अन्य क्षेत्रमा जियोफिजिकल सर्भे गरिएको जानकारी दिए । उक्त टोलीले पाँचखालमा एक साता लगाएर सर्भे गरेको थियो । बेलायती सर्भे मेसिन र ड्रोन क्यामेरामार्फत जियोफिजिकल सर्भे गरिएको थियो । विस्तृत प्रतिवेदन सार्वजनिक गरेपछि नै पाँचखालको सम्पदालाई प्राथमिकतामा राखेर थप उत्खनन गर्नुपर्ने जनाइएको थियो ।
यसअघि विभागले संयुक्त राष्ट्रसङ्घीय अङ्ग (युनेस्को)लाईसमेत सन् २०२०, जुन् २९ मा पाँचखालको सम्पदाबारे जानकारी गराइसकेको छ । पाँचखाललगायत मुलुकका विभिन्न स्थानमा रहेका सम्पदाको सर्भे गर्न बेलायतस्थित दूरहाम विश्वविद्यालयका आठ सदस्यीय विज्ञ टोली मार्च पहिलो साता नेपाल आएको थियो । सर्भे मेसिनले सम्पदा क्षेत्र तथा जमिनमुनि सात मिटरसम्मको भौतिक अवस्था पत्ता लगाउँछ ।
नेपालका केही स्थानमा खोज, उत्खनन्का क्रममा भेटिएका सम्पदा सामग्री तथा स्तम्भ लिच्छविकालीन र मध्यकालीन ऐतिहासिक सम्पदा भएपछि जियोफिजिकल सर्भे गर्नु आवश्यक देखिएकाले एक वर्षअघि बेलायतबाट विज्ञ टोली मगाएको थियो । त्यसबेला कपिलवस्तुबाट सम्पदा खोज अनुसन्धान थालेको टोलीले छ जिल्लाका विभिन्न स्थानमा सर्वेको काम सकेको थियो ।
काभ्रेपलाञ्चोकको पाँचखाल क्षेत्रमा करिब तीन वर्षअघि गरिएको खोज, उत्खननका क्रममा भेटिएका सम्पदा सामग्री तथा स्तम्भ लिच्छविकालीन र मध्यकालीन सम्पदा भएपछि विभागले जियोफिजिकल सर्वे गरेको जनाएको छ । पाँचखाल क्षेत्रमा उत्खननका क्रममा भेटिएका सम्पदा सामग्री तथा स्तम्भ लिच्छविकालीन र मध्यकालीन ऐतिहासिक सम्पदा भएको पुष्टि गर्दै उत्खननमा सहभागी विभागका अधिकृत बिष्णुप्रसाद पाठक र वरिष्ठ पुरातत्वविद् उद्धव आचार्यद्वारा तयार प्रतिवेदनमा पाँचखाल नपा–२ माल्टारमा अवस्थित विभिन्न व्यक्तिको खेतमा भेटिएका प्राचीन दरबारको गारो, २२ सेन्टिमिटर चौडाइ भएको इँटालगायतका सामग्री लिच्छविकालीन र मध्यकालीन ऐतिहासिक सम्पदा भएको उल्लेख गरिएको छ ।
उत्खननका क्रममा भेटिएको अन्य आकारका इँटा र अङ्गारको थप अनुसन्धान गर्न बाँकी रहेको उल्लेख गर्दै श्रीरामपाटीमा तीन मिटर लम्बाइ र दुई मिटर चौडाइ उत्खनन गर्दा पक्की इँटाको गारोभित्र माटाको डुँडद्वारा पानी पाइपलाइन भेटिएको थियो ।

साथै, स्थानीय प्रस्तर प्रयोग गरी एक मिटर ५० सेन्टिमिटरको आधार बनाई ६० सेन्टिरमिटर सुर मिलाएर गारो बलियो बनाइएको प्रतिवेदनमा उल्लेख गरिएको छ । नगरप्रमुख महेश खरेलले पाँचखालको सम्पदा संरक्षणमा भरपुर प्रयास भइरहेको बताउँदै थप प्रतिवेदन आएपछि नगरद्वारा सम्पदा संरक्षणको गुरु योजना बनाउने बताए ।
पाँचखाल नगर क्षेत्रमा भेटिएका सम्पदा सुरक्षार्थ दुई वर्षअघि नै जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोक समेतले सम्पदा क्षेत्रमा ‘खनजोत’ गर्न रोक लगाउँदै गर्नुपरे विगागको स्वीकृति र सहमति गराउन पाँचखाल नपालाई पत्रमार्फत जानकारी गराइसकेको छ ।
खोज अनुसन्धानकर्र्ताले उत्खनन गरेको क्षेत्रको संरक्षण र अवैध उत्खनन रोक्नुपर्ने सुझाव दिँदै आएका छन् । स्थानीय प्राचीन पलाञ्चोक उपत्यका पुरातत्व खोज तथा अनुसन्धान समितिले पनि नगरभित्रका ऐतिहासिक सम्पदा पुनःनिर्माण एवं नयाँ निर्माण गर्दा पुरातात्विक ढाँचामै निर्माण गर्न नगरलाई सुझाव दिँदै आएको छ ।

 

प्रकाशित मिति : ५ पुस २०७९, मंगलबार  ११ : ३६ बजे