११ पुस ०७९, काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका–६ पाण्डु बजार घलातेस्थित युनिटी टोलको एक घरमा आगलागी हुँदा पाँचमहिने शिशुको ज्यान गएको छ।
रामेछाप दोरम्बा गाउँपालिका–१ घर भएकी शर्मिला मोक्तानको कोठामा आगलागी हुँदा मोक्तानकी पाँचमहिने छोरी लासाङ मोक्तानको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब राजु केसीले जानकारी दिए।
आगलागीमा परेर टाउको, अनुहार, तिघ्रा, हात, खुट्टालगायत आधा शरीर जलेकी शिशुको प्रहरीले उद्धार गरी उपचारका लागि भक्तपुरस्थित सिद्धिस्मृति अस्पतालमा लगिएकामा उपचारकै क्रममा ज्यान गएको उनले जानकारी दिए।
आमाबुबा कोठामा नभएको र पाँचवर्षे दाजु मात्रै कोठामा रहेको बेलामा भएको आगलागीमा कोठामा रहेका सोफा र अन्य सामग्रीसमेत जलेर क्षति पुगेको उनले जानकारी दिए। आगलागी के कारण र केबाट सुरु भयो भन्नेबारेमा खुल्न नसकेको र घटनाको अनुसन्धान भइरहेको उनले जानकारी दिए।
११ पुस २०७९, सोमबार
0
Shares
प्रतिक्रिया