२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


चावहिल साँखु सडकमा पर्ने तीन पुल विस्तार सुरु



१२ पुस ०७९, काठमाडौं ।  चारदेखि छ लेनमा विस्तार गरिएको चावहिल-साँखु सडकखण्ड अन्तर्गत तीन वटा पुल विस्तार सुरु गरिएको छ । नारायणटारको बागमती पुलसँगै महादेव खोला पुल र मनोमता खोलामा पुल निर्माण गर्नका लागि प्रक्रिया अघि बढाइएको हो ।

अहिले यी पुल निर्माणका लागि सर्भे डिजाइन भइरहेको काठमाडौँ चक्रपथ सडक विस्तार योजनाले जनाएको छ । निर्माण कम्पनी आफैँले डिजाइन गर्ने गरी (डिजाइन एण्ड बिल्ड) ठेक्कामार्फत् निर्माण गर्न लागिएको आयोजनाका सूचना अधिकारी महानन्द जोशीले बताए । सो पुल निर्माण सम्पन्न गर्न अवधि साढे दुई वर्ष छ ।

“सडक जति चौँडा छ पुल पनि त्यति नै फराकिलो बनाइनेछ”, उनले भने, “पुलको दायाँबायाँ दुई÷दुई लेनको पुल बनाइनेछ”, उनले भने। पुल निर्माण गर्न लागिएका तीन स्थानमध्ये सबैभन्दा बढी सवारी चाप नारायणटारको बागमती पुलमा एउटा पुल माथिल्लो पट्टी मात्र निर्माण गर्न लागिएको छ । “तलतिर घर भएकाले एकातिरबाट मात्रै बनाउन सकियो, दुवैतिर बनाउन सकिएन”, उनले भने ।

पहिले २२ मिटर चौडाइमा कालोपत्र गर्ने गरी ठेक्का भएको चावहिल साँखु सडक कतै त्यही चौडाइमा त धेरै स्थानमा त्योभन्दा कम चौडाइमा कालोपत्र भएको छ । अरु सबै ठाउँमा कालोपत्र हुँदा पनि थली सडक हुनसकेको थिएन । गत साता सो स्थानमा समेत कालोपत्र भएको छ ।

सडक विस्तार सुरु भएको झण्डै सात वर्षपछि अहिले सम्पन्न हुने क्रममा छ । सडक विस्तार हुँदा आफ्नो घरजग्गा मासिने भएकाले स्थानीयहरु मुआब्जा पाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतसम्म पुगेका थिए । सरकारले तीन वर्षअघि नै विस्तारका क्रममा रहेका उपत्यकाका सडक यथास्थितिमै कालोपत्र गर्ने निर्णय गरेको थियो ।

 

प्रकाशित मिति : १२ पुस २०७९, मंगलबार  ३ : २९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।