पहिला यहाँ फोहर मात्र थियो । त्यो फोहरलाई माटोले पुरेर अहिले सुन्दरउद्यान निर्माण हुँदैछ । उद्यानलाई अझै सुन्दर बनाउने प्रयास गरिरहेका छौँ । मन्दिर पूर्णरुपमा निर्माण भएपछि पूर्ण रुपमा घराबारसहित गेट पनि निर्माण हुनेछ
३२ साउन । ललितपुर महानगरपालिका २५ भैँसेपाटी चोकमा रहेको नवदुर्गा मन्दिरलाई भैँसेपाटी महिला सामुदायिक वन अन्तर्गतको सञ्जीवनी उद्यानभित्र पुनः स्थापना गरिने भएको छ ।
मच्छिन्द्रनाथ मार्ग अन्तर्गतको भैँसेपाटी चोकमा रहेको सो मन्दिरलाई सडक विस्तार गर्नेक्रममा दुईवर्ष अगाडि स्थानीय जनप्रतिनिधिको सहमतिमा अर्को ठाउँमा सार्नेगरी हटाइएको थियो ।
अहिले ललितपुर महानगरपालिकाको आर्थिक सहयोगमा सो स्थानमा नवदुर्गा मन्दिर बनाइन लागिएको हो । सञ्जीवनी पार्क तथा मन्दिर निर्माण समितिका अध्यक्ष रवि विष्टका अनुसार, भैँसेपाटी महिला साामुदायिक वनको ३७ रोपनी जग्गामध्येमा दुई रोपनी जग्गा मन्दिर तथा उद्यान निमार्णको लागि प्रयोग भएको छ ।
ठूला रुख रहेको सञ्जीवनी उद्यान निर्माण हुँदा उद्यानभित्र आवतजावत क्रम बढिरहेको छ । ललितपुर महानगरपालिको रु ९९ लाख ७२ हजार आठ सय पाँच रुपैँया आर्थिक सहयोगमा निर्माण हुन लागेको सञ्जीवनी उद्यान तथा मन्दिर परिसरलाई पूर्ण रुपमा घेराबार गरिनेछ ।
दुई रोपनी क्षेत्रफलमा फैलिएको सञ्जीवनी उदानमा २२ फिट अग्लो नवदुर्गा मन्दिर निर्माण हुन लागेको छ । मन्दिर निर्माणको काम गरिरहेका प्राविधिक अनिल तुलाधरका अनुसार नवनिर्मित नवदुर्गा मन्दिर तल्लेकार शैलीमा निर्माण हुनेछ । महिला सामुदायिक वनमा सञ्जीवनी उद्यान निर्माण पूरा भएपछि भैँसेपाटी चोक सुन्दर देखिने सञ्जीवनी पार्क तथा मन्दिर निर्माण समितिका अध्यक्ष विष्टले बताए ।
विष्टले भने, “पहिला यहाँ फोहर मात्र थियो । त्यो फोहरलाई माटोले पुरेर अहिले सुन्दरउद्यान निर्माण हुँदैछ । उद्यानलाई अझै सुन्दर बनाउने प्रयास गरिरहेका छौँ । मन्दिर पूर्णरुपमा निर्माण भएपछि पूर्ण रुपमा घराबारसहित गेट पनि निर्माण हुनेछ ।”करिब ३७ रोपनी क्षेत्रफलमा फैलिएको भैँसेपाटी महिला सामुदायिक वनमा अहिले सल्लाको रुख छन् । ती रुखले नवनिर्मित सञ्जीवनी उद्यान तथा दुर्गा मन्दिरलाई आकर्षित बनाउने छ ।
भैँसेपाटी महिला सामुदायिक वन उपोभोक्ता समितिकी उपाध्यक्ष ८३ वर्षीया कान्छी महतका अनुसार २०३८ सालमा सल्लाको बिरुवा रोपिएको थियो ।
महतले भनिन्, “अहिले त रुखहरु पुराना भइसके । कतिपय सुकिसके कतिपय सुक्दैछन् । रुखहरु ढल्ने र बिजुलीको तारमा ठोकिने खतरा छ । यी रुखको व्यवस्थापन गरेर नयाँ रुख रोप्नुपर्ने भएको छ ।” समितिका अध्यक्ष विष्टका अनुसार अवको तीन महिनाभित्रमा मन्दिर निर्माण समापन हुनेछ । “विशेषगरी नवदुर्गा मन्दिरमा दसैँमा पूजा गरिने भएको कारण पूजा समयभित्र मन्दिर निर्माण गरिसक्ने प्रयास गरिरहेका छौँ ।” उनले भनिन्, “मन्दिरमा पूजा त बिहानबेलुका हुन्छ, तर नवदुर्गा मन्दिरमा विशेष पूजा हुने भनेको दसैँ र चैत दसैँमा हो ।”
प्रतिक्रिया