एकान्तकुनामा लिप्टसहितको अपाङ्गतामैत्री पुल बन्दैछ, धोबिघाटबाट कीर्तिपुर जाने पुल पनि अपाङ्गतामैत्री हुनेछ
पाटन (ललितपुर)
ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले ललितपुरलाई अपाङ्गतामैत्री सहर बनाउने दाबी गरेका छन् । अपाङ्गता भएका व्यक्तिहरूको ३३औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा ललितपुर महानगरपालिकाद्वारा आज जावलाखेलमा आयोजित कार्यक्रममा मेयर महर्जनले अपाङ्गतामैत्री पूर्वाधार निर्माण, सूचना प्रवाह र सेवा प्रवाहमा ध्यान दिएको जानकारी दाबी गरेका थिए ।
“एकान्तकुनामा लिप्टसहितको अपाङ्गतामैत्री पुल बन्दैछ, धोबिघाटबाट कीर्तिपुर जाने पुल पनि अपाङ्गतामैत्री हुनेछ”, प्रमुख महर्जनले भने । मेयर महर्जनले अपाङ्गतामैत्री पूर्वाधारका साथै प्रविधिको विकासका लागि सङ्घीय सरकार, प्रदेश सरकारका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थासँग हातेमालो गरेर अगाडि बढ्ने बताए ।
उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले अपाङ्गताको जीवन जीउनु रहर नभई बाध्यता भएको भन्दै बाध्यताका कष्टकर जीवनयापन गरिरहेकालाई सहयोग गर्नु र माया गर्नु कर्तव्य र दायित्व रहेको बताइन् ।
जिल्ला प्रहरी कार्यालय ललितपुरका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक नवरत्न पौडेलले समयसमयमा हुने यस्ता कार्यक्रमले अपाङ्गता भएका व्यक्तिहरूलाई थप हौसला प्रदान गर्ने बताउँदै यस्ता मञ्चबाट उनीहरूले समान अवसर पाउनका लागि आफ्ना कुराहरू व्यक्त गर्ने अवसर पाउने बताएका छन् ।
प्रतिक्रिया