पाटन (ललितपुर)
ललितपुरको जावलाखेलमा प्रदर्शनी सुरु भएको छ ।
फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा आजदेखि १८औँ गोदावरी फूलको प्रतियोगितात्मक तथा प्रर्दशन २०८२ सुरु भएको हो । प्रदर्शनी कात्तिक २ गतेसम्म सञ्चालन हुने जानकारी गराइएको छ ।
प्रदर्शनीको उद्घाटन समारोहमा मन्तव्य राख्नुहुँदै कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डाक्टर गोविन्दप्रसाद शर्माले नेपालको पुष्प व्यवसायको विकास, विस्तर र प्रवद्र्धनका लागि व्यवसायीहरूले उठाएको मुद्दा सम्बोधनका लागि नीतिगत विषयमा सहजीकरण गर्ने बताएका छन् ।
“पुष्प व्यवसायको विकास र प्रवद्र्धनमा निजी क्षेत्रको मेहनतले आफ्नै प्रयासमा भए गरेको काम सराहनीय छ, पुष्प व्यवसायमा विश्वमा आएको परिवर्तन र अभ्यासलाई स्वीकार गरेर अगाडि बढ्नुपर्छ, गुणस्तरीय स्वनियमनलाई उद्यमीहरूले ध्यान दिनुपर्छ”, उनले भने ।
सचिव डाक्टर शर्माले नेपाल सरकारले लागू गरेको बीउबिजन नियमावलीका आधारमा आलंकारिक बिरुवाहरूलाई दर्ता गर्ने कार्यलाई अगाडि बढाइएको जानकारी गराउँदै नेपाली पुष्प व्यवसायको विकास र विस्तारका लागि अवैधानिक रूपमा आउने फूललाई रोकेर देशभित्रका पुष्प व्यवसायीहरूलाई प्रोत्साहन गर्न व्यवसायीहरूले नै सहयोग गर्नुपर्नेमा जोड दिएका छन् ।
सचिव डाक्टर शर्माले प्लास्टिकका फूलहरूलाई उपयोगमा नियन्त्रण गरेर पुष्प व्यवसायीहरूलाई प्रोत्साहनमा जोड दिनुपर्छ भन्दै देश बाहिरबाट आउने कृषिजन्य एवं पुष्पजन्य सामग्रीको क्वारेन्टाइन परीक्षणका विषयमा ध्यान दिएर नियन्त्रण गर्ने काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष वस्तुगत परिषद्का सभापति हेमराज ढकालले पुष्प व्यवसायको प्रवद्र्धनका लागि बीउबिजनको विकास र प्रदर्शनीका लागि सुविधाको व्यवस्था गरिनुपर्नेमा जोड दिए । उनले जेनजी आन्दोलनमा घुसपैठ भएर समाजले पचाउन नसक्ने र २१ औँ शताब्दीमा नसुहाउने खालको अपराधिक काम भएको भन्दै त्यसलाई निरुत्साहित गर्दै व्यावसायिक वातावरण बनाउन सरकारले ध्यान दिनुपर्ने बताएका थिए ।
पुष्प विकास केन्द्रका प्रमुख रवीन्द्र थापाले प्रदर्शनीले पुष्प व्यवसायको प्रवद्र्धनका साथै रोजगारीमा समेत महत्त्वपूर्ण योगदान दिने धारणा राख्नुभयो । फ्लोरिकल्चर एसोसिएनि नेपालका अध्यक्ष राजेशभक्त श्रेष्ठले पुष्प व्यवसायको विकास र प्रवद्र्धनका लागि हरेक वर्ष लगातार रूपमा प्रतियोगितात्मक प्रदर्शनी गर्दै आइरहेको जानकारी दिए । पाँच दिनसम्म सञ्चालन हुने प्रतियोगितामा ९० वटा स्टल रहेका छन् । प्रदर्शनीमा रु ४० लाखभन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको अध्यक्ष श्रेष्ठले बताएका छन् ।
प्रतिक्रिया