२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


‘ऊनको स्वीटर’ समिक्षा : रैथाने जीवनको मिठो प्रेम कहानी



ललितखबर
आजकल कुरुसले बुनेका उनीको न्यानो स्वीटर देखिदैन । ठेकी बनाउने परम्परागत मिल पनि गाँउतिर भेटिन्नन् । खरले घर छाउदै गरेको, रिल हालेर फोटो खिच्ने फोटोग्राफर पनि हराइसके ।
५० को दशकमा देखिने यिनै गाँउले जीवनभित्रका परम्परागत परिदृश्यसँगै मिठो कथा बुनेर बनाइएको चलचित्र ‘ऊनको स्वीटर’ बनाइएको छ । जुन चलचित्र अहिले देशभर प्रर्दशन भइरहेको छ ।

कथासार
धरणीधर काफ्ले सत्यरुपाका बाहुन हुन् । गुरुङलगायत जनजाती बस्तीमा उनको परिवार बस्छ । काफ्ले परिवारको गुरुङ बस्तीमा हिमचिम छ । धरणीधर लेकतिरको बस्तीमा मितबालाई काम सघाउन जान्छन् । मित बाको फुपुको घर अचानक हुरीबतासले उडाउछ । उनी मितफूफुको घर बनाइदिन जान्छन् । फुपुको घर बस्दा उनकी छोरीसँग माया बस्छ । धरणीधर र फूलबीचको प्रेमकथा नै चलचित्रको मुलकथा हो ।


सुन्दर पक्ष
चलचित्र उनको स्वीटर डेव्यु निर्देशक नबीन चौहनले हैन अरु कुनै अनुभवी निर्देशकले बनाएको जस्तो लाग्छ ।
चलचित्रको राम्रो पक्ष यहाँ समेटिएको मौलिक स्वाद हो । सधै चोरिएको कथामा चलचित्र निर्माण भइरहेको आरोप लाग्ने चलचित्रकर्मीबाट टाढा छन् लेखक तथा निर्देशक नवीन चौहान ।
चलचित्रको अर्को सुन्दर पक्ष चरित्र चित्रण पनि हो । धरणीधर काफ्लेको युवाकालीन सोझो र लजालु आनीबानी, बुढ्यौली वयमा पुर्वेली लवजले चलचित्रको कथा निर्खान सहयोग गरेको छ । बाठी फूलको सक्रिय जीवन जीवनशैली र उनको प्रेमभावले कथालाई झन् मिठो बनाइदिएको छ । गुरुङ मितबा बाहुन धरणीप्रति देखाएको रैथाने माया अर्को सुन्दर पक्ष हो ।
चलचित्रमा मौलिक स्वाद मिसाउदै लेखक तथा निर्देशक चौहानले एउटा युगको प्रतिनिधित्व गर्ने चलचित्र बनाएका छन् । परम्परागत काठे मिल,घरले छाएको घर, कुरुसले स्वीटर बुन्दै गरेको दृश्य अनि रिल हालेर फोटो खिच्नेजस्ता कुरा देख्दा रमाइलो लाग्छ ।
चलचित्रमा पटकथा र संवाद पनि बलियो लाग्छ । अप्रत्यासित संवादले ठाँउ ठाँउमा दर्शक हसाउन सफल छ । गाँउले जीवन बाँचेर शहर पसेका दर्शकले चलचित्रभित्र आफुलाई कही न कही पाउछन् । कतिपय दृश्यमा गाँउका कष्टकर जीवन सम्झाउछ ।
आधुनिक जीवनशैली पछ्याएका आजका पुस्ताका लागि चलचित्र ‘ऊनको स्वीटर’ स्वादिलो लाग्नसक्छ । हिजो त्यही जीवन बाँचेर आएका नेपाली दर्शकलाई चलचित्र हेरेर नोस्टाल्जिया अनुभव गर्नेछन् ।
साहित्यिक र संगीतमय प्रस्तुतीले ‘ऊनको स्वीटर’लाई झन् राम्रो बन्न सघाएको छ ।


च्लचित्रका कलाकारहरु उपन्यासका पात्रहरुजस्तै छन् । हरेक पात्रहरुलाई नयाँ नयाँ चरित्रमा सिंगारेर सम्बन्धको कथा भनिएको छ ।
विपिनको चरित्रले धेरैको मन छुन्छ । मायालु लजालु र साझो आर्दश पात्र धरणीधरजस्तै सपनाको राजकुमार चलचित्र हेर्ने हरेक युवतीहरुले स्मरण गर्नेछन् । विशेष गरेर चलचित्र युवतीहरुका लागि मन छुने किसिमको छ ।
चलचित्र ‘ऊनको स्वीटर’ पर्दामा हेर्दा आँखालाई न्यानो हुन्छ । शित्तल महसुस बनाउछ ।
निर्देशकको कलात्मक प्रस्तुती र कथामा गरेको मेहनत पर्दामा देखिन्छ । राम्रो चलचित्र बनाउन निर्देशकसँग कलात्मक चेतसँगै प्रस्तुतीकरण र बलियो कथाको जरुरी हुन्छ भन्ने उनले स्मरण गराएका छन् ।

कमजोरी
चलचित्रको सिक्वेल बनाउने लोभले हुनसक्छ ठाँउ ठाँउमा कथालाई अलपत्र छोडेर अघि बढाइएको छ । विवाह नै नगरि बसेका धरणीधर र फूलबीचका धेरै काहनी पर्दाबाट हराएको छ । चलचित्रभित्र डम्बरेको जोडीको कथा ज्दादै छोटो छ । भागेर सहर पसेका यी जोडीको अधुरो कथाले मन खिन्न हुन्छ ।
चलचित्रको ट्रेलर हेरेर हल पसेका दर्शक थप सुन्दर दृश्यको खोजिमा हुन्छन् तर भेट्दैनन । ट्रलेर जति राम्रो छ तुलनात्मक रुपमा चलचित्र सशक्त छैन ।
सुजन काफ्लेको गीतमा विपिन कार्कीको स्वर सुन्दा कता कता नमिलेको भान हुन्छ ।


मिरुना मगर(फूल)
बाठी पात्र फूलको भूमिकामा रहेकी मिरुना मगरले रैथाने महिलाजस्तै दुरुस्तै अभिनय गरेकी छिन् । धेरै बोल्नुपर्ने छटपटे पात्र फूल प्रेमी धरणीलाई मायाँ गर्छिन् । तर अन्र्तजातीय सम्बन्धलाई लिएर विखलबन्दमा परेको परिस्थितीलाई उनले सजीव ढंगले पर्दामा अभिनय गरेर देखाएकी छिन् ।
यद्यपी उनको संवादशैली भने फेरिएको छैन । अभिनयशैली चाही भिन्न छ ।

विपिन कार्की (धरणीधर काफ्ले)
सोझा गाँउले वाहुन पात्र धरणीधर काफ्ले पाखापखेरामा साहित्यिक मन दिएर बाँचेको युवा । सधै चरित्रलाई न्याय गर्न जान्ने विपिन कार्की चलचित्रभित्र आफूजस्ता देखिदैनन् ।

परिक्षा लिम्बु
भर्खर जवानीमा प्रवेश गर्दै गरेकी युवती को अभिनयकला राम्रो छ । सोह्र सत्रकी चुलबुले युवतीको चरित्रलाई उनले जुरुक्कै बोकेर हिडेको भान हुन्छ । दुखी श्रीमती हुनुपर्दाको मनोदशा उनले पर्दामा देखाएकी छिन् । उनको भभिनय राम्रो छ ।

एलेक्स विश्वकर्मा (डम्बर काफ्ले)
छोटो भूमिकामा देखिएका एलेक्स विश्वकर्मा गाँउले पात्र डम्बरे पात्रलाई औसत रुपमा बोकेको भान हुन्छ । गाँउले जीवनभित्रको मनोदशालाई चलचित्रमा उतार्न उनले थप मेहनत गरेको भए हुन्थ्यो जस्तो लाग्छ । उनको छोटो भूमिका देख्दा थप कथाव्यथा लुकेको तर नदेखाइएको हो कि झैं लाग्छ ।

प्रविधि
चलचित्रमा गीतसंगीत पक्ष सबल छ । सुजन चापागाँई र झुमा लिम्बुको मिठो लवजमा गीतमा प्राण भरिएको छ । पार्शसंगीतले दृश्यहरुमा कला भरेको छ । सुजन परियारले पात्रहरुको चरित्र सुवाउदो भेषभुसा तयार गरेका छन् । रोसन विकेलगायतको टिमले क्यामेरा सही एगलमा चलचित्र खिचेका छन् । कृष्ण भण्डारीको रंग संयोजनमार्फत दृश्यहरु राम्रो बनाएका छन् । प्राविधिक रुपमा समेत चलचित्र बलियो नै छ ।

अन्तमा,

व्यावसायिक र मौलिक चलचित्रको अभाव छ इन्डिष्ट्रिमा । नवीन चौहानजस्ता नयाँ निर्देशकले मौलिक रैथाने कथालाई मिठो पाराले भनेर चलचित्र क्षेत्रको सुन्दर क्षितिज देखाएका छन् ।
महँगो प्रविधि, बलियो स्टारकाष्ट र करोडौंको लगानीमा होइन, मौलिक कथामा कला, श्रृजना र प्रस्तुतीमार्फत चलचित्र राम्रो बनाउन निर्देशक चोहानले सिकाएका छन् । नेपाली चलचित्रभित्र क्षमतावन् कलाकारहरुका लागि योग्न निर्देशकहरुको जरुरी रहेको समेत ‘‘ऊनको स्वीटर’’ले सम्झाएको छ । केवल नेपाली चलचित्र लागि जरुरी छ– बलियो कथा मिठो कथ्यशैली र प्रस्तुती ।

 

प्रकाशित मिति : ३० बैशाख २०८२, मंगलबार  ११ : १४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।